२०८३ असोज २० गते मङ्गलवार

दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने


दाङ । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

चाडबाडको समयमा संघिय राजधानी काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का प्रतिनिधिबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो ।

यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ । अग्रिम टिकट बुकिङ नखुल्दा र केही कम्पनीले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्योल यस निर्णयसँगै हटेको छ ।

बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । निर्णयअनुसार, अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ ।

चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ । पारदर्शी टिकट प्रणालीका लागि सरकार, व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिनेछ ।

त्यसैगरी, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने निर्णय भएको केसीले जानकारी दिनुभयो ।

सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।

बसपार्क र टिकट काउन्टरहरूमा हुने यात्रुको अत्यधिक चापलाई व्यवस्थित गर्न र टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने बाध्यता हटाउन सुरक्षा निकायको प्रभावकारी परिचालन गरिनुपर्नेमा बैठकमा सहभागीहरूले जोड दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस