दाङ ।दशैँतिहार जस्ता ठुला चाडपर्व नजिकिदै गर्दा अवैधरुपमा बिक्रि वितरण हुने पटकाजन्य वस्तुको नियन्त्रणका लागि दाङ प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले आइतबारमात्रै दाङको एक घरबाट चार लाख बढीको पटका बरामद गरेको छ ।
राजपुर गाउँपालिका–३ करंङ्गाखोलास्थित एक घरबाट चार लाख बढीका विभिन्न किसिमका पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाका प्रहरीको संयुक्त टोलीले स्थानीय खिमा पुनको घरमा खानतलासी गर्दा अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा पटका बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद पटकाको अनुमानित मूल्य ४ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ । प्रहरीले पटकासहित ६७ वर्षीया खिमा पुनलाई नियन्त्रणमा लिएको हो ।
पुनलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

























