दाङ । चाडपर्वलाई लक्षित गरेर दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दिपक श्रेष्ठका अनुसार चाडपर्वको मौकामा सार्वजनिक यातायातका साधनभित्रै हुने भिडभाड, चोरी, लुटपाट र असहज यात्रा रोक्न स्थानीय प्रशासनले दाङका ९ स्थानमा सोमबार एकैदिन यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
यात्रु सहायता कक्ष घोराहीमा बसपार्क र तुलसीपुर चोकमा गरी दुई, तुलसीपुरमा दुई, हापुरेमा एक, लमहीमा एक, कोइलावास नाकामा एक, भालुवाङमा एक र अमेलियामा एक गरी ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार स्थापना गरिएका यात्रु सहायता कक्ष दशैं, तिहार र छठ पर्वसम्मै सञ्चालन गरिने छ । दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रु र चालक दुबै पक्षले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले सवारी साधनको अवस्था, चालकको क्षमता तथा सडकको अवस्थालाई ध्यानमा राखेर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायी तथा चालकहरूलाई आग्रह गर्नुभयो ।
यात्रु सहायता कक्षमा विशेष सुरक्षा निगरानी बढाइनेछ । हरेक यात्रु सहायता कक्षमा न्यूनतम तीनदेखि पाँचजनासम्मको सुरक्षाकर्मी रहनेछन् । जसमा नेपाल प्रहरी र सो अन्तर्गतको ट्राफिक प्रहरीको संयुक्त टोली खटिने छ । २४ सै घण्टा सेवा दिने उक्त कक्षले यात्रु सुरक्षाकै पाटोलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो ।

























