तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले चारजना वडा सचिवसहित आठजना अधिकृतको सरुवा गरेको छ। सरुवासंगै उपमहानगरपालिकाले विभिन्न वडा तथा शाखामा कार्यरत अधिकृत कर्मचारीको जिम्मेवारी हेरफेरसमेत गरेको हो।
रेडियो हाम्रो पहुँचलाई प्राप्त विश्वस्त स्रोतको सूचनाअनुसार वडा नम्बर ३ का सचिव सुदीप डाँगीलाई सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ। यसअघि उक्त शाखा प्रमुखको जिम्मेवारीमा रेवा रावत रहनुभएको थियो। डाँगीकाे ठाउँमा बजार व्यवस्थापन शाखाबाट तुलाराम केसीलाई सरुवा गरिएको छ। केसी यसअघि पनि लामो समयसम्म वडा नम्वर ३ मा सचिवको जिम्मेवारीमा रहनुभएको थियो।
त्यस्तै, वडा नम्बर ४ का सचिव भरतकुमार बुढालाई सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ। यसअघि उक्त शाखा प्रमुखको जिम्मेवारीमा कृष्णबहादुर वली रहनुभएको थियो।वडा नम्बर १४ का सचिव आशाराम चौधरीलाई पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ। यसअघि पर्यटन शाखा प्रमुख रहेका झरेन्द्रकुमार खरेललाई तुलसीपुर नगर विकास समितिमा नगर विकास शाखा प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ।
यसैगरी, वडा नम्बर १७ का सचिव गोपाल न्यौपानेलाई उद्योग शाखा प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ। यसअघि उद्योग शाखा प्रमुख रहेका अमृत दाहाललाई आन्तरिक व्यवस्थापनतर्फको जिन्सी शाखामा सरुवा गरिएको छ।उपमहानगरपालिकाले वडा नम्बर ६ को वडा सचिवमा भने भक्तिराम पाण्डेलाई सरुवा गरेको छ।
स्रोतका अनुसार सरुवापछि सचिव रिक्त रहेका वडामा वडा सचिव खटाउने गरी पालिकाले तयारी गरेकाे छ। यद्यपि, कर्मचारीहरूले सम्बन्धित वडामा विभिन्न कारण देखाइ जान आनाकानी गरेपछि केही निर्णयमा भने संशोधन हुन सक्ने सम्भावनासमेत रहेको स्रोत बताउँछ ।
पालिकामा यसपटकको सरुवा नियमित प्रक्रियाअन्तर्गत गरिएको बताइन्छ। यसअघि शाखा प्रमुखको जिम्मेवारी अधिकृत सातौँ तहका कर्मचारीले सम्हाल्दै आएकोमा अहिले अधिकृत आठौँ तहका कर्मचारीलाई दिइएको बुझिएको छ।

























