२०८३ असोज २० गते मङ्गलवार

ज्ञान ज्योतिमा कक्षा ११ विद्यार्थीलाई स्वागत : राम्रो विद्यार्थी बन्नुभन्दा पहिले असल मानव बन्नुपर्नेमा जोड


दाङ । ज्ञानज्योति एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसीले मोबाइललाई सही ढंगले प्रयोग गर्न सके शक्तिशाली पुस्तकालयका रूपमा उपयोग गर्न सकिने बताउनुभएको छ ।

ज्ञान ज्योति मावि तुलसीपुरका कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै जिसीले विद्यार्थीले पाठ्यपुस्तक मात्र नभई जीवन पढ्ने शिक्षा पनि लिनुपर्ने बताउनुभयो ।

अभिभावकले आफ्ना सन्तानलाई आशा, विश्वास र सपना सुम्पिएको उल्लेख गर्दै उहाँले राम्रो विद्यार्थी बन्नुभन्दा पहिले असल मानव बन्न आग्रह गर्नुभयो ।

उहाँले ज्ञानसँगै विनम्रता र अनुशासनलाई जीवनको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन फाउन्डेसनका संस्थापक टीकाबहादुर जिसीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले आजका विद्यार्थी नै भोलिको समाजको मार्गदर्शक बन्नुपर्ने बताउनुभयो ।

व्यक्तिको क्षमतालाई पहिचान गरी त्यसको सम्मान गर्न सके अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । कार्यक्रममा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले शिक्षा क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा सामाजिक उत्तरदायित्वको काम गरेको बताउनुभयो ।

कार्यक्रममा चर्चित लोकगायक अर्जुन सापकोटाले विशेष सांगीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा विभिन्न जातजाति तथा समुदायका संस्कृति र भेषभूषा झल्कने नृत्यसमेत प्रस्तुत गरिएको हो । कार्यक्रमको सहजीकरण सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस