दाङ । दंगीशरण गाउँपालिका–२ कौवाघारीमा रहेको राजाकोट सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा प्रमुख अतिथि दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले वनमा धेरै सम्भावना रहे पनि त्यसको सदुपयोग कसरी गर्ने भन्ने विषय उपभोक्ताको जिम्मेवारी भएको बताउनुभयो। उहाँले वनलाई कस्तो बनाउने भन्ने विषयमा सबै उपभोक्ता जिम्मेवार हुनुपर्ने भन्दै वन उद्यममार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।
पालिकाले दुनाटपरीको प्रयोग बढाउने निर्णय गरिसकेको जानकारी दिँदै उहाँले स्थानीय स्तरमै यसको उत्पादन र प्रयोग बढाउन आग्रह गर्नुभयो ।

स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले अब वन संरक्षण मात्रै गर्ने नभई वनबाट आम्दानी लिने समय आएको बताउनुभयो । उहाँले वन संरक्षण, चरिचरण नियन्त्रणलगायतका काममा सामुदायिक वनले ठूलो बजेट परिचालन गर्न थालेको भन्दै त्यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभामा बोल्दै ग्रीन फाउन्डेसन नेपालका उद्यम विकास अधिकृत सुरेश कुमार रावतले सामुदायिक वनका उपभोक्ताहरूलाई वन उद्यममा लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले गरिएको लगानीले भविष्यमा प्रतिफल दिने भन्दै वनका उपभोक्ता जागरूक र सक्रिय हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरस्थित झुलेङ्गे पुलमा भएको साधारणसभामा समूहका अध्यक्ष चक्र मिलन वि.क.ले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कोषाध्यक्ष सीता डाँगीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो। लेखा समितिका संयोजक लोकराज लामिछानेले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा समूहले सामुदायिक वनको कार्ययोजना नवीकरण, विधान संशोधन लगायतका महत्वपूर्ण काम गरेको जनाएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षमा वनलाई ‘संरक्षित, समृद्ध, उत्पादनशील र पर्यापर्यटनमैत्री सामुदायिक वन’ का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
वन संरक्षण, डढेलो नियन्त्रण, अग्निरेखा निर्माण, कार्यालय भवन निर्माण, पानीका मुहान संरक्षण, ‘राजाकोट हरित पार्क’ विकास, राजाकोट टावरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास, वनभोज स्थल निर्माण, जैविक मल उत्पादन, गैरकाष्ठ वन पैदावार तथा वनजन्य उद्यम प्रवद्र्धनलगायतका कार्यक्रम अघि बढाइने जनाइएको छ ।
महिला तथा युवालाई उद्यम र आयआर्जनमा जोड्ने, वृक्षारोपण गर्ने, वन व्यवस्थापनबाट प्राप्त काठ तथा दाउराको व्यवस्थित वितरण, समूहको प्रशासनिक कामलाई डिजिटल प्रणालीमा लैजाने, उपभोक्ताका लागि घुम्तीकोष सञ्चालन गर्ने तथा वन संरक्षणमा खटिने पदाधिकारी, वन हेरालु र कर्मचारीको म्यादी जीवन बीमा गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम, वित्तीय विवरण तथा बजेट, आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको लेखापरीक्षण, लेखा समितिको प्रतिवेदन तथा उपभोक्ता सदस्यता अनुमोदन गरेको छ ।
त्यस्तै, समूहको आर्थिक तथा प्रशासनिक कार्यविधि, २०८३ र घुम्तीकोष लगानी कार्यविधि, २०८३ अनुमोदन, कार्यालय भवन निर्माण, कटान तथा मुछान आदेश लिने, राजाकोट टावरमा पर्यटकीय गन्तव्य निर्माण, अग्निरेखा निर्माण, राजाकोट हरित पार्क तथा वनभोज स्थल निर्माण, सालघारी जलाशयको थप विस्तार तथा विकास, शुल्क वृद्धि तथा जरिवाना निर्धारण र कार्बन लाभ प्राप्तिका लागि कार्यक्रम माग गर्न प्रस्ताव पेश गर्नेलगायत करिब २५ वटा निर्णय साधारणसभाबाट पारित भएका छन्।
साधारणसभामा सहभागी उपभोक्ताको स्वास्थ्य परीक्षणका लागि तुलसीपुर साझा हस्पिटल प्रा.लि.को सहयोगमा हेल्थ डेस्कसमेत सञ्चालन गरिएको थियो ।
सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो व्यवस्थापन, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वमा योगदान पुर्याउने व्यक्ति, संस्था तथा सहयोगी निकायलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष लक्ष्मण देवकोटा, पूर्व अध्यक्षहरू स्व. शिवराज बस्नेत, स्व. तुलाराम डाँगी र स्व. देविराम सार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका परिवार तथा हालसम्मका अध्यक्ष र वन हेरालुलाई सम्मान गरिएको थियो ।
डिभिजन वन कार्यालय दाङ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ, ग्रीन फाउन्डेसन नेपाल, हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसीपुर साझा हस्पिटल प्रा.लि., गोल्टाकुरी प्रहरी चौकी, ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल तथा सञ्चारमाध्यममार्फत सामुदायिक वनको संरक्षणमा योगदान पुर्याउने रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जका स्टेशन म्यानेजर बसन्त कुमार पौडेलसहित पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
वनमा आगलागी नियन्त्रणलगायतका काममा स्वयंसेवकका रूपमा योगदान पुर्याउने गणेश परियार,अमिशा घर्ति, कृष्ण खत्री, शिशिर बस्नेत र राम बहादुर कुसारीसहित पाँच जना युवालाई सम्मान गरिएको थियो ।
साधारणसभा वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन वि.क.को अध्यक्षता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यता,स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल र दंगीशरण सब–डिभिजन वन कार्यालय, श्रीगाउँ दाङका प्रमुख दिवश परियारको विशिष्ट आतिथ्यतामा भएको हो ।
संस्थाका उपाध्यक्ष विवेक कुमार वि.कको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव भिमा घर्ती र सदस्य शारदा चौधरीले गर्नुभएको थियो ।

























