२०८३ कार्तिक ५ गते बिहिवार

अम्बिकेश्वरी राप्ती यातायातले तुलसीपुरमा भित्र्यायो अत्याधुनिक सुविधासहितका बस


दाङ । अविकेश्वरी सार्वजनिक राप्ती यातायात प्रणालीले दाङको तुलसीपुरमा अत्याधुनिक सुविधासहितका सुपर लग्जरियस एसी बस भित्र्याएको छ । यात्रुलाई थप आरामदायी र सुविधासम्पन्न यात्रा गराउने उद्देश्यले प्रणालीले नयाँ बस सञ्चालनमा ल्याएको हो ।

अम्विकेश्वरी सार्वजनिक राप्ती यातायात प्रणालीका अध्यक्ष घनश्याम बस्नेतले यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्दै यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नयाँ बस भित्र्याइएको बताउनुभयो । उहाँले नयाँ बसमा उपलब्ध सुविधाहरू नेपालमै फरक र विशेष रहेको दाबी गर्नुभएको छ ।

बसमा एसी, एयर सस्पेन्सन, अक्सिजन र वासरुमलगायतका सुविधा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । नयाँ बसमा यात्रुको सहजता र आरामलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाइ छ ।

यात्रुहरूले लामो दूरीको यात्रामा एकल सिटमा बस्न रुचाउने गरेको र महिला यात्रुका लागि छुट्टै सिटको व्यवस्था गर्न अनुरोध आउने गरेको भन्दै उहाँले यात्रुको मागलाई मध्यनजर गरी बसमा एकल सिटको व्यवस्था गरिएको बताउनुभयो ।

नयाँ बसमा विमानमा प्रयोग हुने शैलीका आरामदायी सिटहरू रहेकाले यात्रुले थप सहज र सुविधाजनक यात्रा गर्न सक्ने प्रणालीले जनाएको छ । अत्याधुनिक सुविधा भएका बस सञ्चालनमा आएसँगै यात्रुलाई गुणस्तरीय सेवा उपलब्ध हुने उहाँको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस