दाङ । चाडपर्वको मुखैमा रोल्पामा अटो दुर्घटना हुँदा दुई जना महिलाको यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परीे माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार भण्डारीको आइतबार बिहान साढे ११ बजेतिर मृत्यु भएको हो । त्यस्तै गम्भीर घाइते मगरलाई दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
अटोमा चालक सहित तीन जना मात्रै सवार थिए । चालक माडी– ३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा छन् । घर्तीगाउँ भित्री सडक खण्ड अन्तगर्त माडी – १ चालाङमा आइतबार बिहान १० बजेतिर घर्ती गाउँदेखि पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकदेखि करिब ६०० मिटर मुनि खसेको थियो ।
घटनाबारे इलाका प्रहरी कार्यालय घर्ती गाउँले सवा १० बजेतिर खबर पाएको थियो । त्यसपछि इप्रका घर्ती गाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरी स्मृति अस्पताल घर्ती गाउँमा पुर्याएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























