दाङ । विजयादशमीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका-७ का वडा अध्यक्ष रामबहादुर जिसीको अगुवाइमा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित व्यक्तिहरूलाई बिहानको भोजन गराइएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा स्पेनमा रहनुभएका टेक बहादुर रोका र भुपति शर्माको सहयोगमा वडा अध्यक्ष जिसीको परिवारसहितको टोलीले मंगलबार महानवमीका दिन आश्रममा पुगेर संयुक्त रूपमा भोजन गराएको हो ।

दशैंको खुसी आश्रममा आश्रित आमाबुवा तथा असहाय व्यक्तिहरूसँग साटासाट गर्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो । उहाँले सहारा र साथको आवश्यकता भएका व्यक्तिहरूका लागि आफूले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै चाडपर्वका बेला आश्रममा आश्रित आमाबुवालाई भोजन गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।
दशैंजस्तो पारिवारिक भेटघाट र खुसी साटासाट गर्ने पर्वमा आश्रममा आश्रित व्यक्तिहरूलाई पनि आफ्नै परिवारको सदस्यसरह सम्झेर सहयोग गर्नु मानवीय सेवाको महत्वपूर्ण उदाहरण भएको उहाँको भनाइ छ ।
भोजन कार्यक्रममा सहभागी भई सहयोग गर्नुभएकोमा मानव सेवा आश्रमका संयोजक हिरू जोशीले वडा अध्यक्ष जिसीको परिवार तथा सहयोगदाता टेक बहादुर रोका र भुपति शर्माप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


























