दाङ। दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक तथा अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । दशैँ र तिहारको बिदालाई सदुपयोग गर्दै विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको हो ।
विद्यालयमा बिहीबारदेखि उद्घोषणकलादेखि लेखा व्यवस्थापनसम्मका कक्षा सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक शिव पुनले दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीलाई झिकाउने, सिकाउने र बिकाउने विद्यालयले नीति लिएको बताउनुभयो ।
विद्यालय सञ्चालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले हाम्रो पहुँच विद्यालयले बजारले खोज्ने र समाजले रोज्ने जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले बजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुका साथै समाजले रुचाउने जनशक्ति तयार गर्न विद्यालयले उद्घोषणकलादेखि लेखा व्यवस्थापनजस्ता अतिरिक्त क्रियाकलापमा जोड दिएको जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष तथा विद्यालय सञ्चालन उपसमितिका संयोजक कृष्णप्रसाद पोख्रेलले विद्यार्थीले आफ्नो क्षमता पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै, संस्थाका सल्लाहकार सूर्यप्रसाद शर्माले विद्यार्थीले किताबी ज्ञानसँगै अतिरिक्त ज्ञानमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाका सचिव जीवराज अधिकारीले सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यालय सञ्चालन उपसमितिका सदस्य उत्तमप्रसाद भण्डारीले बजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउनुभयो ।
विद्यालयका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षक अर्जुन बस्नेतले गर्नुभएको हो । बिहिबार संस्थाका सल्लाहकार सुर्यप्रसाद शर्माले लेखा व्यवस्थापन तालिम र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले उद्घोषण तालिम प्रदान गर्नुभएको छ ।

























