दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि बिहानैदेखि बदली देखिएको छ । तर दाङका अधिकांश ठाउँमा आज दिउँसोको समयमा केहि बेर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुुसार आज दिउँसो दाङमा वर्षाको संभावना छैन् ।
तुलसीपुरमा अधिकतम तापक्रम २६ डिग्री सेल्सीयस रहने अनुमान गरिएको छ । आज र भोलि भने देशका अन्य केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।
तराईका एक/दुई ठाउँमा पनि मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
यसैबीच यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आँकलनअनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ ।
त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी रहने सम्भावना छ । अर्थात् गर्मी धेरै हुने देखिन्छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपणसहित आँकलन सार्वजनिक गरिएको हो ।
नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरको झण्डै ८० प्रतिशत पानी पर्छ । मनसुनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्नेछ । कृषिमा हुनसक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ ।
















