२०८३ जेष्ठ ४ गते सोमवार

कपुरकोट गाउँपालिकाका विद्यालयमा अब शनिबारमात्रै बिदा हुने

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्था लागू गरिरहेका बेला गाउँपालिकाले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको सोमबार बसेको ११ औँ बैठकले विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन शनिबार मात्र बिदा दिने र आइतबार नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलद्वारा जारी सूचनामा पालिका मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शनिबार मात्र सार्वजनिक बिदा दिई आइतबार साविक बमोजिम नै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

नेपाल सरकारले २०८२ चैत २२ गते राजपत्रमा सूचना प्रकाशित गरी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो । तर, कपुरकोट गाउँपालिकाले भने विद्यार्थीको पढाइमा पर्ने असर र स्थानीय परिवेशलाई कारण देखाउँदै आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस निर्णयसँगै कपुरकोट क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूले अब साताको ६ दिन नै पठनपाठन गराउनुपर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस