२०८३ जेष्ठ ४ गते सोमवार

राप्ती लाइफ केयर अस्पतालले दियो, सृजनसिल आविका विद्यार्थीलाई शैक्षिक सामग्री


दाङ, ३१ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेस्थित श्री सृजनसिल आधारभुत विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राप्ती लाईफ केयर हस्पिटल प्रालिको सहयोगमा विद्यालयमा अध्ययनरत ३८ जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई सामग्री प्रदान गरिएको हो ।

अस्पतालले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा राखेर झोला, कापी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत उपलब्ध गराएको छ । शैक्षिक सामग्रि पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

कार्यक्रमकै अवसरमा राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर र विद्यालयबीच एक महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले अस्पतालमा उपचार गराउँदा ओपिडि सेवा इर्मेजेन्सी सेवा निःशुल्क पाउनेछन् भने विद्यार्थी,कार्यरत शिक्षक र अभिभावकहरूले अन्य स्वास्थ्य सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने घोषणा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालले विद्यार्थीहरू देशका भविष्य भएको बताउनुभयो । विद्यार्थी भनेको काँचो माटो भएको बताउँदै उहाँले बालबालिकालाई जस्तो बनायो उस्तै बन्ने बताउनुभयो ।

उहाँले अस्पतालको तर्फबाट प्रदान गरिएको सामग्रीलाई मायाको चिनो स्वरूप स्वीकार गर्न आग्रह गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले उपमहानगरपालिकाभित्रै रहेर पनि भौगोलिक र आर्थिक रूपमा दुर्गम महसुस भइरहेको अवस्थामा अस्पतालले गरेको यो सहयोग कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

एउटा कलम वा कापीको अभावमा कुनै विद्यार्थीको भविष्य नरोकियोस् भन्ने हेतुले गरिएको यो पुण्य कर्मका लागि अस्पताल परिवारलाई उहाँले धन्यावाद ज्ञापन गर्नुभयो ।

अभियभावक रुपकली डिसी आले, गीता खड्का र यम प्रकाश पुन मगर लगायतले शैक्षिक सामग्री र स्वास्थ्य सेवामा भएको छुटको सम्झौताले आफूहरूलाई ठूलो राहत मिलेको बताउनुभयो ।

प्रधानाध्यापक सन्तोष परियारको अध्यक्षता तथा राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सहायक प्रधानाध्यापक प्रेम नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दिलीप डाँगीले गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस