२०८३ जेष्ठ ४ गते सोमवार

एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा अभिनन्दन

तुलसीपुर । दाङको तुलसीपुरस्थित डिभाइन टेम्पल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा अभिनन्दन गरेको छ । विद्यालयले यस वर्ष एसईईमा शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको थियो ।

कार्यक्रममा डिभाइन एजुकेशन फाण्डेशनका सिइओ भोजराज न्यौपानेले विद्यालयले उच्च शिक्षाका सबै विषयहरू पढ्न पाउने गरी विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको बताउनुभयो ।

उहाँले यो उत्कृष्ट नतिजा हासिल हुनुमा स्वयं विद्यार्थी, अभिभावक र शिक्षक सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका र सामूहिक प्रयास रहेको उहाँले उल्लेख गर्नुभयो ।

सहायक प्रधानाध्यापक महेश लामिछानेले विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेकोमा गर्व गर्दै, सम्पूर्ण टिम र विद्यार्थीहरूले गरेको कडा मेहनतले नै आज यो सफलताको शिखर चुम्न सम्भव भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस्तै शैक्षिक प्रमुख रिम बहादुर खड्काले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै, अबको यात्रामा आफ्नो वास्तविक क्षमता र रुचिलाई चिन्न जरुरी रहेको औंल्याउनुभयो । आफ्नो क्षमता पहिचान गरेर अघि बढेमा भविष्यमा अझ ठूला सफलताहरू हासिल हुने उहाँको भनाइ छ ।

अभिभावक छविकुमार चौधरीले विद्यालय र अभिभावकको संयुक्त लगानी, विश्वास र विद्यार्थीहरूको मेहनतले आज सार्थकता पाएको भन्दै उहाँले विद्यालय परिवारप्रति आभार र खुसी प्रकट गर्नुभयो ।

पत्रकार आशिष केसीले गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई बधाई दिँदै, आगामी दिनमा पनि यस्तै सफलताको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा एसईईमा सफल विद्यार्थीहरूलाई अबिर, खादासहित सम्मान गरिएको हो । कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसी मुस्कानले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस