२०८३ जेष्ठ ४ गते सोमवार

हाम्रो पहुँच स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान


दाङ । दाङको तुलसीपुरस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ ।

विद्यालयले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी सफल विद्यार्थीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिव पुनले एसईईमा सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले उच्च शिक्षा अध्ययनका लागि विषय छनोट गर्दा प्राप्त जीपीएलाई मात्र आधार बनाउनु भन्दा पनि आफ्नो भविष्यको लक्ष्य र योजना अनुसार अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

प्रधानाध्यापक पुनले हाम्रो पहुँच स्कुलले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथसाथै व्यावहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा विद्यालय सञ्चालन उपसमितिका संयोजक कृष्ण पोखरेल, उपसमिति सदस्यद्वय जीवराज अधिकारी र उत्तम भण्डारीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा अभिभावकहरूका तर्फबाट परविर पुन र गङ्गा थापाले मन्तव्य राख्दै विद्यार्थीहरूको यो सफलतामा विद्यालय र शिक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यस्तै, उत्तीर्ण विद्यार्थीहरू शुभम अधिकारी र अनुप पौडेलले विद्यालयमा बिताएका पलहरूको स्मरण गर्दै आगामी दिनमा जहाँ पुगे पनि विद्यालयको गरिमा र संस्कारलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक अर्जुन बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस