कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकाका स्थानीयबासीहरुले अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएका छन् ।
बंगलाचुलीका विभिन्न खानीबाट चुनढुंगा बोक्ने टिपर व्यवसायीहरुले पूर्वसहमति अनुसार सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि नबढाएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
गत पुस महिनामा स्थानीय सरकार, टिपर व्यवसायी र स्थानीयबासीबीच बंगलाचुलीको जुम्मेपानीस्थित एक किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्झौता भएको लामो समय बितिसक्दा समेत कालोपत्रेको कुनै पनि काम सुरु नभएपछि बाध्य भएर सडक बन्द गर्नु परेको ‘बंगलाचुली बनाऔं अभियान’का संयोजक सुशील परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिपर व्यवसायीहरुले सम्झौताअनुसार अहिलेसम्म एक किलोमिटर सडक कालोपत्रे गर्नका लागि कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । कालोपत्रे गर्ने माग पूरा नभएसम्म टिपर सञ्चालन गर्न दिइने छैन ।
खानी उत्खनन् र टिपर सञ्चालन भएयता बंगलाचुली क्षेत्रका स्थानीयबासीहरुले अत्यधिक धुलो र धुवाँको सास्ती भोग्दै आइरहेका छन् । प्रदूषणका कारण जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयहरुले पटक–पटक आवाज उठाउँदै आएका छन् । माग पूरा नभएसम्म आन्दोलन र टिपर बन्दको कार्यक्रम जारी रहने स्थानीयबासीले चेतावनी दिएका छन् ।
















