२०८३ साउन २६ गते मङ्गलवार

तुलसीपुरको शिवपुरमा सम्पन्न देवी भागवत महापुराणबाट २४ लाखभन्दा बढी बचत


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ शिवपुरमा सञ्चालन गरिएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’को आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

श्री सत्य सुन्दरादेवी भगवती मन्दिरको भौतिक संरचना निर्माण तथा मन्दिरलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १९ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको महापुराणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार महापुराणबाट कुल ३८ लाख ५६ हजार २ सय २८ रुपैयाँ आम्दानी भएको छ भने १३ लाख ६९ हजार ५ सय ६२ रुपैयाँ खर्च भएकोे छ । कार्यक्रमबाट २४ लाख ८६ हजार ६ सय ६६ रुपैयाँ बचत भएको समितिले जानकारी दिएको छ ।

मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कल्पना केसी वलीले आय–व्यय विवरण प्रस्तुत गर्दै बचत रकम मन्दिरको भौतिक पूर्वाधार विकास तथा धार्मिक गतिविधिमा उपयोग गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गैरेले बचत रकमको सदुपयोग गर्दै मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले यसका लागि स्थानीय अगुवा, बुद्धिजीवी तथा टोलवासीसँग छलफल गरेर निर्माण कार्य अघि बढाइने बताउनुभयो ।

मोतिराम केसीको सभाध्यक्षता तथा महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षक खगेन्द्र काफ्ले, सुशान्त मल्ल, दुर्गा डाँगी, बमबहादुर मल्ल लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

महापुराणमा प्रमुख वाचकका रूपमा बालब्रह्मचारी केशाचार्य सूर्यपाकी रहनुभएको थियो । उहाँको सङ्गीतमय कथा वाचनले भक्तजनलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको समापन गर्दै महापुराण संयोजक मोतिराम केसीले महापुराण सफल बनाउन सहयोग गर्ने भक्तजन, स्वयंसेवक, सञ्चारकर्मी तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नवीन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा बस्यालले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस