२०८३ जेष्ठ २७ गते बुधवार

महिलाका लागि ३ दिने क्षमता विकास तालिम

दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर २ को आयोजना, दंगीशरण गाउँपालिका कार्यालय हेकुलीको आर्थिक सहयोग तथा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने क्षमता विकास तालिम शनिवारलसम्पन्न भएको छ।

दंगीशरण गाउँपालिका–२ स्थित कलमखोलामा सम्पन्न तालिममा २५ जना युवा महिलाको सहभागिता रहेको थियो। महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक र आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिममा सहभागी महिलाहरूलाई नेतृत्व विकास, समूह व्यवस्थापन, आत्मनिर्भरता, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्व सम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो।
वडा सदस्य अन्जना विकको अध्यक्षता, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काकाे प्रमुख आतिथ्यता तथा वडा नम्वर २ का अध्यक्ष डम्बर खत्रीकाे
विशिष्ट आतिथ्यतामा भएको हो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले महिलाको क्षमता विकास बिना समाजको समग्र विकास सम्भव नहुने बताउँदै यस्ता तालिमले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गरी आयआर्जन तथा सामाजिक नेतृत्वमा सक्रिय हुन सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिता डाँगी, सचिव इन्द्रा कुमारी घर्ती, सदस्य यशोदा शर्मा, सदस्य कमला कुसारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहकारी संस्थाका प्रबन्धक चक्र मिलन विकले गर्नुभएको थियो।

आयोजकका अनुसार यस्ता क्षमता विकाससम्बन्धी तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै सामाजिक, आर्थिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस