२०८३ जेष्ठ १६ गते शनिवार

डिजिटल बजार पहुँच विस्तार गर्न तुलसीपुरमा क्रेता-विक्रेता बैठक


तुलसीपुर । स्थानीय उत्पादनको डिजिटल बजार पहुँच विस्तार तथा बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यले तुलसीपुरमा क्रेता-विक्रेता बैठक सम्पन्न भएको छ।


एफएफएफ-एफएओ नेपाल र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था दंगीशरणको संयुक्त आयोजनामा शनिबार सम्पन्न बैठकमा सहभागीहरूले स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन तथा डिजिटल बजारसँग जोडिने अवसरबारे छलफल गरेका थिए ।


कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टोपबहादुर घर्तीले स्थानीय उत्पादनको दीर्घकालीन बजारीकरणका लागि स्पष्ट योजना आवश्यक रहेको बताउनुभयो। स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकारले प्रभावकारी नीति तथा कानुन निर्माण गर्न सक्ने भए पनि अपेक्षित चासो नदिएको उहाँको भनाइ थियो। प्लास्टिकजन्य सामग्रीको प्रयोग नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।


तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर र बजारको मागअनुसार सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। व्यवसायीहरू प्रतिस्पर्धात्मक बजारमा मुनाफा र गुणस्तरका आधारमा अघि बढ्ने भएकाले उत्पादनलाई प्रतिस्पर्धी बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको धारणा थियो।


दंगीशरण गाउँपालिकाको सहकारी, उद्योग तथा वन वातावरण शाखाका प्रमुख यादवबहादुर डाँगीले पालिकाले आयोजना गर्ने कार्यक्रमहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई निरुत्साहित गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार अधिकांश कार्यक्रमहरूमा सालका पातबाट निर्मित दुना–टपरी प्रयोग गर्ने गरिएको छ। धार्मिक, सांस्कृतिक तथा स्वास्थ्यका दृष्टिकोणले समेत उपयोगी भएकाले सालका पात संकलनमा सहजता ल्याउन आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो। गुणस्तर अनुगमनका लागि संघीय सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो।


तुलसी उपभोक्ता सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बासुदेव अधिकारीले प्लास्टिकजन्य सामग्रीको वास्तविक लागत र त्यसले वातावरण तथा स्वास्थ्यमा पार्ने असरलाई ध्यानमा राखेर मूल्य निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो। सालका दुना-टपरीसँगै माटोका कपजस्ता वैकल्पिक सामग्री उत्पादन गरी बजारमा ल्याउन सके आर्थिक आत्मनिर्भरतामा टेवा पुग्ने उहाँले बताउनुभयो।


दंगीशरण गाउँपालिका–२, कलमखोलास्थित हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको दुना टपरी उद्योगबाट सालका पातबाट निर्मित दुना–टपरी हाल दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म उत्पादन गर्दै आएको छ। उद्योगले दुना–टपरीसँगै ढकिया समेत उत्पादन गरी दाङसहित काठमाडौँसम्म बजार विस्तार गरेको जनाएको छ।


कार्यक्रममा व्यवसायीहरू सुधिरप्रताप शाह, गणेश गुप्ता, गणेश खड्का र खुसीराम चौधरीलगायतले उत्पादन भए पनि प्याकेजिङ र बजारीकरणमा चुनौती रहेको बताएका थिए। उपभोक्ताको आवश्यकता अनुसार साना आकारका प्याकेजिङ सामग्री बजारमा ल्याउनुपर्ने उनीहरूको सुझाव थियो।


सहभागीहरूले प्लास्टिकजन्य सामग्रीले स्वास्थ्यमा पार्ने नकारात्मक असर तथा सालका दुना–टपरी प्रयोगका फाइदाबारे व्यापक जनचेतना फैलाउनुपर्नेमा समेत जोड दिएका थिए।


पूजासामग्री व्यवसायी, दुना-टपरी तथा ढकिया उद्यमी, सहकारीकर्मी,पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको बैठकमा स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र डिजिटल बजारसँग जोडिने सम्भावनाबारे अनुभव आदान–प्रदान गरिएको थियो।


बैठकमा कार्यक्रमको उद्देश्य तथा विषयवस्तुबारे दीपक परियारले जानकारी गराउनुभएको थियो। संस्थाका अध्यक्ष राजेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रबन्धक चक्र मिलन विश्वकर्माले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस