सल्यान । कपुरकोट गाउँपालिकामा नवनिर्मित १५ शैयाको आधारभूत अस्पताल भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीले संयुक्त रूपमा नयाँ भवनको उद्घाटन गर्नुभएको हो ।
नयाँ भवनबाट सेवा सुरु भएसँगै अब स्थानीय नागरिकले आफ्नै पालिकाभित्र भरपर्दो र आधुनिक स्वास्थ्य सेवा पाउने भएका छन् । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले स्वास्थ्य क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको र यो नयाँ अस्पताल भवनले कपुरकोटवासीको स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच अस्पताल भवन उद्घाटनको विशेष अवसर पारेर कपुरकोट गाउँपालिकाको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटल प्रालि घोराही, दाङको प्राविधिक सहयोगमा एक दिने एकीकृत बृहत् स्वास्थ्य शिविर पनि संचालन गरिएको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा विभिन्न रोगको निःशुल्क जाँच तथा उपचार भइरहेको छ ।
शिविरमा टाउको, पेट, छाती, मुटु, कलेजो, सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) र मृगौला सम्बन्धी रोगहरूको विस्तृत परीक्षण गरिएको छ । यस्तै परीक्षणका क्रममा चिकित्सकले सिफारिस गरेका आवश्यक औषधिहरू बिरामीलाई निःशुल्क वितरण भइरहेको छ ।
यस्तै बिरामीको रोग पहिचानका लागि आवश्यक पर्ने ल्याब टेस्ट (प्रयोगशाला) र एक्स–रे सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।
















