दाङ । दाङसहित देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।
गएको बिहीबारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको छ । पानी पर्ने क्रम आज बेलुकादेखि केही कम हुने तर थोरै ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविद्को अनुमान छ ॥
















