तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित नयाँ बसपार्कमा रहेको कृषि हाट बजार परिसरमा सरसफाइ गरिएकाे छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा पातुखोला किनारमा रहेको कृषि हाट बजार क्षेत्रमा सरसफाइ गरिएको हो।

बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने र सम्भावित प्राकृतिक तथा अन्य विपद्को जोखिम न्यूनीकरण गर्दै पूर्वतयारीका उपायबारे समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो।

उहाँका अनुसार किसानका उत्पादन बिक्री गर्ने स्थललाई व्यवस्थित गर्दै उपभोक्तालाई स्वस्थ वातावरणमा तरकारी खरिद गर्न सक्ने कृषि हाटबजारका रूपमा व्यवस्थित गर्ने लक्ष्य राखिएको छ।
सोही क्रममा शनिबार बिहान उक्त क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म, इलाका प्रहरी कार्यालय, नेपाल सशस्त्र प्रहरी बल बेस क्याम्प, सहयोगी बचत तथा ऋण सहकारी संस्था, व्यवसायी, स्थानीय बासिन्दा, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उक्त क्षेत्रलाई महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित किसान र तरकारी व्यवसायीका लागि उपयुक्त हाटबजारका रूपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा सो क्षेत्रलाई व्यवस्थित कृषि हाट बजारका रूपमा विकास गरिने पनि उल्लेख गर्नुभयो। अहिले तयार भएको कृषि हाटबजारभित्र नभई किसानहरूले खुला चौरमा तरकारी बिक्री वितरण गर्दा फोहोर व्यवस्थापनमा चुनौती थपिएको मेयर खड्काले उल्लेख गर्नुभयो।
आगामी दिनमा तयार भएकै संरचनामा किसानहरूलाई बसेर निर्धक्कसंग तरकारी बिक्री वितरणका लागि आग्रह समेत गर्नुभयो। तर संरचना खाली हुने खुला चौरमा तरकारी बिक्री वितरण गर्ने कार्य नरोकिए नगर प्रहरी मार्फत थप व्यवस्थित गर्ने र फोहोरमैला व्यवस्थापनमा पनि पालिकाले ध्यान दिने बताउनुभयो।
यसैबीच, सोही अवसरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना तथा नमूना अभ्यास कार्यक्रम पनि सम्पन्न गरिएको छ।

विपद् व्यवस्थापन गुल्म तुलसीपुरले आगलागीजन्य घटनाबाट जोगिने उपाय, आगो नियन्त्रण गर्ने तरिका, एलपी ग्यास दुर्घटनाबाट बच्ने सावधानी, तथा बाढी–पहिरो लगायतका विपद् अवस्थामा उद्धार प्रक्रिया सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेको थियो।

संस्थाका उपाध्यक्ष टिकाजंग ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर ओलीले गर्नुभएको थियो।


















