तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ स्थित मातृभूमि सिकाई केन्द्रले सञ्चालन गरेको ७ दिने चप्पल बनाउने तालिममा सहभागी महिलाहरूले सीपलाई आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत आइतबारदेखि सञ्चालन भएको तालिममा सहभागी पद्मा भुषालले तालिम उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले सिकेका सीपलाई व्यवहारमा उतार्ने योजना बनाएको बताउनुभयो । प्रमाणपत्र प्राप्त गर्नु मात्र तालिमको उद्देश्य नभई सीपलाई प्रयोगमा ल्याएर आत्मनिर्भर बन्ने लक्ष्य रहेको उहाँको भनाई छ ।

भुषालले तालिम समयानुकूल र उपयोगी भए पनि अवधि छोटो भएकाले अपेक्षाअनुसार पर्याप्त अभ्यास गर्न नपाएको अनुभव सुनाउनुभयो । आगामी दिनमा यस्ता तालिमको अवधि बढाएर सञ्चालन गर्न सके सहभागीहरूलाई अझ प्रभावकारी रूपमा सीप हस्तान्तरण हुने उहाँको भनाइ छ ।
यस्तै, अर्की सहभागी गीता कँडेलले चप्पल बनाउने सीप सिकेपछि स्वरोजगार तथा आयआर्जनका गतिविधिमा जोडिने सोच बनाएको बताउनुभयो । उहाँले तालिमले नयाँ सीप सिक्ने अवसर प्रदान गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरणा दिएको उल्लेख गर्नुभयो । तालिममा सहभागी महिलाहरूले प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी परिवारको आर्थिक अवस्था सुधार गर्न सकिने बताएका छन् ।
महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित ७ दिने चप्पल बनाउने तालिमको आज सोमबार समापन गरिएको छ । संस्थाका अध्यक्ष निमकान्त उपाध्यायको अध्यक्षता तथा वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

तालिमका प्रशिक्षक टीकाकुमारी पौडेलले सात दिनको अवधिमा महिलाहरूलाई विभिन्न पाँच प्रकारका डिजाइनमा लेडिज चप्पल बनाउन सिकाइएको जानकारी दिनुभयो । महिलाहरू घरायसी काममा मात्र सीमित नभई सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जिसीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिकेको सीपलाई उद्यम र आम्दानीसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । साथै, महिलाहरूको आर्थिक सशक्तीकरणका लागि स्थानीय सरकारले आगामी वर्षको बजेटमा विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिबद्दता जनाउनुभयो ।
संस्थाका उपाध्यक्ष नारायणकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका परिचालीका ताराकुमारी वलीले गर्नुभएके थियो । तालिममा वडा नम्बर ७ का १८ जना महिलाहरूको सहभागिता रहेको थियो ।



















