२०८३ असार १० गते बुधवार

विद्यार्थीहरूले गरे पोषण तथा स्वास्थ्य प्रदर्शनी


दाङ, १० असार । चिकित्सा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको राप्ती लाइफ केयर हस्पिटल एण्ड एच.ए. कलेजमा अध्ययनरत् पी.सी.एल. नर्सिङ दोस्रो वर्षका विद्यार्थीहरूको आयोजनामा एक दिने वृहत् स्वास्थ्य, पोषण तथा प्राथमिक उपचार सम्बन्धी शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको माध्यमिक विद्यालय सेन्टरको प्राङ्गणमा कार्यक्रम गरिएको हो । कलेजले विद्यार्थीहरूलाई केवल कक्षाकोठाको सैद्धान्तिक अध्ययनमा मात्र सीमित नराखी समुदाय र व्यवहारिक क्षेत्रमा प्रयोगात्मक सिकाइलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

विद्यालयका बालबालिकाहरूमा स्वास्थ्य, व्यक्तिगत सरसफाइ, आकस्मिक उद्धार र सही पोषणबारे चेतना जगाउने उद्देश्यले आयोजित प्रदर्शनीमा नर्सिङका विद्यार्थीहरूले विभिन्न जानकारीमूलक चार्ट, मोडेल र प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए। प्रदर्शनीको मुख्य आकर्षणको रूपमा रहेको ’खाद्य पिरामिड’ मार्फत कुन खानेकुराबाट शरीरलाई के प्राप्त हुन्छ र ती तत्वहरू किन आवश्यक पर्छन् भन्ने कुरा विस्तृत रूपमा बुझाइएको थियो ।

शरीरलाई तागत र ऊर्जा दिन चामल, गहुँ र मकै जस्ता कार्बोहाइड्रेट युक्त खाना खानुपर्ने, शरीरको वृद्धि विकास र मांसपेशी बलियो बनाउन मासु, माछा, अण्डा र गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको आवश्यकता पर्ने बताईको थियो ।

यस्तै विद्यार्थीहरुले रोगसँग लड्ने क्षमता बढाउन,आँखा एवं छाला स्वस्थ राख्न हरियो सागसब्जी र फलफूलबाट भिटामिन तथा खनिज पदार्थ प्राप्त हुने जानकारी गराएका थिए । उनिहरुले चिल्लो तथा गुलियो पदार्थलाई कम खाएर खाँदा सन्तुलित आहार मिलाउन ुकिने व्यवहारिक ज्ञान प्रदान गरेका थिए ।

कार्यक्रममा आकस्मिक अवस्थामा ज्यान जोगाउने उपाए (सिपिआर) को प्रयोगात्मक अभ्यास समेत सिकाइएको थियो । मातृ तथा शिशु स्वास्थ्यलाई केन्द्रमा राख्दै प्रदर्शनीमा गर्भवती महिलाको हेरचाह र पोषणको महत्वबारे पनि विशेष जानकारी दिइएको थियो । गर्भावस्थामा आमाले खानुपर्ने थप पौष्टिक तत्व, आराम र शिशुको स्वास्थ्यका लागि स्तनपान गराउने तरिकाका बारेमा जानकारी गराइएको थियो ।

रोगहरूबाट बच्न र स्वस्थ जीवनशैली अपनाउन व्यक्तिगत सरसफाइको महत्वका बारेमा बालबालिकाहरूलाई जानकारी गराउँदै नर्सिङका विद्यार्थीहरूले साबुनपानीले सही तरिकाले हात धुने विभिन्न चरणहरू आफैं अभ्यासमार्फत सिकाएका थिए ।

प्रदर्शनीमा भिटामिन ’ए’ को कमीले हुने रतन्धोपन, भिटामिन ’डी’ को कमीले हुने रिकेट्स, र भिटामिन ’के’ को कमीले हुने अत्यधिक रक्तस्राव जस्ता समस्या र तिनका समाधानबारे पनि सचेत गराइएको थियो । मवि सेन्टर स्कूलका शिक्षक तथा विद्यार्थीहरूले कलेजले गरेको यो प्रयोगात्मक प्रयास ज्ञानवद्र्धक र चेतनामूलक रहेको बताएका थिए ।

राप्ती लाइफ केयर हस्पिटल एण्ड कलेज परिवारले आगामी दिनमा पनि यस्ता समुदायमुखी र व्यावहारिक स्वास्थ्य शिक्षाका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा शिक्षक कमल भुषाल,अस्मिता ज्ञवाली,सम्झना डाँगी र टिका वलीको सहभागिता रहेको थियो । स्वास्थ्य सचेतना कार्यक्रम मार्फत विद्यार्थीहरुलाई स्वास्थ्यमा प्रयोगात्मक अभ्यास प्रस्तुत गरेकोमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस