२०८३ कार्तिक ७ गते शनिवार

मनसुन सक्रिय हुने तरखरमा, देशभर वर्षाको सम्भावना


दाङ । दाङसहित पश्चिम नेपालमा आज बिहानै ठुलो वर्षा भएको छ । गर्मी बढ्दै गएका बेला पानी परेपछि शितलता महसुस गरिएको छ ।

शीतल महसुससँगै खेतिपातिका लागि आकाशेपानीको प्रतीक्षा गरिरहेकाहरुलाई भने यो साताको वर्षाले केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

जल तथा मौसम विभागका अनुसार मनसुन बिस्तारै सक्रिय हुन थालेकाले यो हप्ता देशका धेरै ठाउँमा पानी पर्ने र गर्मी केही कम हुने छ ।

मौसमविदहरुका अनुसार कुनै–कुनै ठाउँमा त धान रोप्न मिल्ने गरी पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबार र शनिबारसम्म तातो हावाको लहर झेलेका लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईवासीले पनि वर्षाका कारण राहत महसुस गर्नेछन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि विहीबारसम्म मध्यम खालको पानी पर्ने पूर्वानुमान छ । एक/दुई ठाउँमा भने भारी पानी पर्नसक्ने मौसमविद लामिछानेको भनाइ छ ।

मौसमविदहरुका अनुसार यो साता पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी पानी पर्ने सम्भावना छ ।

अर्का मौसमविद डा. धर्मराज उप्रेतीले पनि केही दिनदेखि कमजोर मनसुन बिस्तारै सक्रिय हुने क्रममा रहेको बताउनुभयो ।

आजदेखि १७ गतेसम्ममा मनसुन थप सक्रिय हुँदै पश्चिम नेपालमा पुग्ने अनुमान गरिएको छ ।

यस्तै असार १६ गतेदेखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावनाले रोपाइँको वातावरण बनाउने उहाँले बताउनुभयो ।

यस वर्षको मनसुन अवधिभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस