दाङ । दंगीशरण गाउँपालिका–२, सिमलकुना निवासी सोनम बुढाको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्न थालेको छ । विगत एक वर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत बुढा हाल चितवनस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
चिकित्सकीय परीक्षणका क्रममा उहाँको मृगौला, आन्द्रा तथा मुटुमा समस्या देखिएको परिवारले जनाएको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ हुँदै आए पनि अहिले प्राप्त सहयोगका आधारमा उपचार प्रक्रिया अगाडि बढिरहेको बताइएको छ ।
यसैबीच, दंगीशरण गाउँपालिका–२, सरुवाडाँडा स्थित ज्ञानोदय इंग्लिस बोडिङ स्कुलले मानवीय सहयोगस्वरूप सोनम बुढाकी छोरी अस्मिता बुढालाई निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ ।
विद्यालयका सञ्चालक मेघनाथ शाहले आर्थिक रूपमा विपन्न तथा समस्यामा परेका परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत अस्मितालाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यस्तै, सोही वडाका चक्र मिलन विकले अस्मिताको पठनपाठनका लागि आवश्यक कापी, कलम तथा विद्यालय पोसाकाको व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ ।
स्थानीय स्तरबाट प्राप्त यस्ता सहयोगले उपचाररत सोनम बुढाको परिवारलाई राहत मिल्नुका साथै समुदायमा सहयोग र मानवीय भावनाको सकारात्मक सन्देश प्रवाह गरेको छ ।



















