दाङ । विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर दाङको घोराहीमा एक जना जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि मोबिल खनाएका छन् । घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि मोबिल खनाएर जनप्रतिनिधिले दुर्व्यवहार गरेका हुन् ।
घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल खनाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले वडा सदस्य बुढाथोकीको खोजी शुरू गरेको छ । वडा सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन कानुनविपरीत ढंगले अघि बढाइएको दाबी गरेका छन् ।
निर्वाचनअघि अभिभावकको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनुपर्ने र गणपूरक संख्या नपुगेमा तीन पटकसम्म अभिभावक भेला आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
विद्यालयले उक्त प्रक्रिया पूरा नगरी निर्वाचन अघि बढाएको तथा शिक्षा अधिकृत बोहोराले त्यसलाई स्वीकृति दिएको बुढाथोकीको आरोप छ ।
शिक्षा अधिकृतमाथि दुर्व्यवहार भएको घटनालाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार घटनापछि वडा सदस्य लेखनाथ बुढाथोकी फरार रहेका छन् । अहिले बुढाथोकीको खोजी कार्य जारी छ ।



















