२०८३ साउन ५ गते मङ्गलवार

कृषिलाई आधुनिकीकरण गर्दै तुलसीपुर–९, ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने अभियानलाई तीव्रता दिएको छ । वडा कार्यालयले कृषकहरूको सहजताका लागि अनुदानमा विभिन्न कृषि उपकरण वितरण गरेको छ ।

वडाले मंगलबार दुई वटा कृषक समूहलाई १० वटा हाते ट्याक्टर (मिनी टेलर) वितरण गरेको हो । गत आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटबाट राधाकृष्ण कृषक समूह सल्लीबन र शिवपुर कृषक समूह शिवपुरलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको हो ।

ट्याक्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष घनश्याम ढकालले कृषिको आधुनिक विकास र प्रविधिको प्रयोगविना आर्थिक समृद्धि सम्भव नरहेको बताउनुभयो । उहाँले किसानको श्रम र समय बचत गर्दै उत्पादन बढाउन वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा शिवपुर कृषक समूहका अध्यक्ष मोतिराम केसीले कृषिलाई व्यावसायिक बनाउन आधुनिक औजार अनिवार्य भइसकेको बताउँदै वडा सरकारले अनुदानमा ट्याक्टर उपलब्ध गराउँदा किसानहरूमा पेशाप्रति थप उत्साह थपिएको बताउनुभयो ।

वडा सचिव मेघराज भुषालका अनुसार बजार मूल्य प्रतिट्याक्टर ५३ हजार रुपैयाँ रहेकोमा किसानलाई ५० प्रतिशत अनुदान अर्थात् २६ हजार ५ सय रुपैयाँमा वितरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य एवं वडा सदस्य बसन्ता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरू झुपलाल खत्री, गोपाल भण्डारी, दिलकुमारी नेपाली तथा कृषक समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस