दाङ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी दीपा पुनको विषालु च्याउ खाँदा निधन भएपछि छोराहरुको बिचल्ली भएको छ । केही वर्षअघि श्रीमान् कमल पुनलाई गुमाएकी दीपाको पनि निधन भएपछि अहिले दुई छोराहरू साहाराविहीन बनेका छन् ।
बुवाको अल्पआयुमै निधन भएपछि दुई छोराको लालनपालन र साहारा बनेर बसिरहेकी आमाको पनि गत साउन १ गते शुक्रबार निधन भएपछि ती बालकहरूको भविष्य अन्योलमा परेको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उक्त परिवारमा अभिभावकको मृत्यु भएसँगै दुई बालक बिचल्लीमा परेको स्थानीय कलिभान रोकाले सामाजिक संजाल फेसबुकमा दुई छोराको फोटो पोष्ट गर्दै सहयोगको अपिल गर्नुभएको छ ।
रोकाका अनुसार अहिले उनीहरूको दैनिकी चलाउन, पालनपोषण गर्न र शिक्षादीक्षा अगाडि बढाउन ठूलो समस्या परेको छ । दुबै बालकको जीवनयापन तथा उज्ज्वल भविष्यका लागि सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरिएको हो ।



















