दाङ। “सीप सिकौँ, सिर्जना गरौँ, आत्मनिर्भर बनौँ“ भन्ने मूल नाराका साथ दाङको लमहीमा २० दिने बाँस हस्तकला तथा उद्यमशीलता सीप विकास तालिम सुरु भएको छ ।
ग्रीन फाउन्डेसन दाङको आयोजना तथा डीजीएम र आरआरएनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले सीपमूलक तालिमले स्थानीय स्रोत र सीपको उपयोग गर्दै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले बाँसजन्य हस्तकलालाई आयआर्जनसँग जोडेर समुदायलाई आर्थिक रूपमा सबल बनाउन यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । त्यस अबसरमा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनसँग जोडिएका उपभोक्तालाई सीप, उद्यमशीलता र उत्पादनमुखी कार्यक्रममार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतारी आयआर्जन वृद्धि गर्न सहभागीलाई आग्रह गर्नुभयो । तालिममा गायत्री सामुदायिक वन उपभोक्ता समूहका करिब २० जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा त्यसैगरी स्थानीय वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेत, स्थानीय वन महासंघ गठुवाका अध्यक्ष नवराज शर्मा, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, ग्रीन फाउन्डेसन दाङका उपाध्यक्ष आशा जिसी, सचिव जितबहादुर खड्का तथा ग्रीन फाउन्डेसन नेपालका कार्यक्रम संयोजक दीपक परियारको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार २० दिने तालिममा सहभागीलाई बास हस्तकलासम्बन्धी व्यावहारिक ज्ञान, उत्पादन निर्माण तथा उद्यम सञ्चालनसम्बन्धी सीप प्रदान गरिनेछ ।
ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख अतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल विशिष्ट अतिथ्यता एवं सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष कलसी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपालका कर्मचारी गणेश भण्डारीले गर्नुभएको हो ।



















