दाङ । सडक विस्तारसँगै दाङको घोराही–तुलसीपुर सडकखण्डका बरपिपलका चौतारी एकपछि अर्को गर्दै मासिन थालेका छन् । कुनै समय बटुवाको विश्रामस्थल, गाउँलेको साझा चौतारी र सामाजिक संवादको केन्द्रका रूपमा परिचित यी चौतारी सडक फराकिलो बनाउने क्रममा मासिँदै गएका हुन् ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसालका अनुसार घोराही–तुलसीपुरको २३ किलोमिटर सडकखण्डमा पहिले ५० भन्दा बढी बरपिपलका चौतारी थिए । ती चौतारी यात्रु विश्राम गर्ने, गाउँका बैठक बस्ने र सामाजिक सम्बन्ध बलियो बनाउने साझा थलोका रूपमा चिनिन्थे । उहाँले सडक विस्तारसँगै पुरानो इतिहास, पहिचान र सांस्कृतिक सम्पदा जोगाउन नसकिएको बताउनुभयो ।
उहाँले बरपिपल नेपाली समाजमा धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले विशेष महत्व राख्ने बताउनुभयो । उहाँका अनुसार लिच्छविकालदेखि नै राजमार्ग र सार्वजनिक स्थानमा बरपिपल रोपेर चौतारी बनाउने परम्परा रहँदै आएको छ । यस्ता रुखले शीतल छहारी दिनुका साथै तापक्रम सन्तुलन, माटो संरक्षण र जैविक विविधता जोगाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
केही साताअघि तुलसीपुर–१८ बिजौरीस्थित ऐतिहासिक पिपल चौतारी पनि सडक विस्तारका क्रममा हटाइएको स्थानीयको भनाइ छ । घोराही–७ सिसहनियाका बेझलाल चौधरीले चौतारी हराएसँगै गाउँको आत्मीयता र सामाजिक अन्तर्क्रियाको संस्कार पनि हराउँदै गएको बताउनुभयो ।
यता, सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले भने सडकको स्वीकृत मापदण्ड र यातायात सुरक्षालाई प्राथमिकतामा राखेर कानुनी प्रक्रिया पूरा गरी आवश्यक रुख मात्र हटाइएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार घोराही–तुलसीपुर सडकको दायाँबायाँ १५–१५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने भएकाले चार लेन सडक विस्तारका क्रममा कानुनी प्रक्रिया पूरा गरेर रुख हटाइएको हो ।













