दाङ ।
तुलसीपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि मदन आश्रित चोकदेखि गुम्राह चोकसम्म डिभाइडर राखिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबई क्याम्पससँगको सहकार्यमा दुर्घटना बढी हुने क्षेत्रमा डिभाइडर राखेको हो ।
गएको साउन २१ गते तुलसीपुरमा मोटरसाइकल र स्कुटी ठोक्किदा स्कुटी टिप्परको मुनि परेर तुलसीपुर–११ कटाहाकी २१ वर्षिया कल्पना केसी र साउन २९ गते तुलसीपुर–१४ ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरीको ग्रुमाहचोक दुर्घटनामा मृत्यु भएको थियो। एक सातामै दुई जनाको मृत्यु भएको र सो सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको भन्दै दुर्घटना न्यूनीकरणका लागि डिभाइडर राखिएको संघले जनाएको छ ।
संघका अध्यक्ष विनिल केसीका अनुसार पहिलो चरणमा नमुनाका रूपमा करिब १ लाख ६० हजार बराबरका डिभाइडर राखिएको छ । सडक प्रयोगकर्तालाई सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
डिभाइडर राख्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्वजनप्रतिनिधि एवं सामाजिक अभियन्ता नवराज लामिछाने, संघका पूर्वअध्यक्ष विमल रिजाललगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान प्रभावकारी हुने बताउँदै सडक सुरक्षाका लागि प्रहरी, स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिकबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।






















