दाङ । तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सकेण्डरी स्कुलका विद्यार्थी बिहिबार केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा पुगेर अध्ययन अवलोकन गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु स्वास्थ्य विषयको ‘प्रोजेक्ट वर्क’ अन्तगर्त केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा अध्ययन अवलोकनका लागि पुगेका हुन् ।
विद्यालयका शिक्षक नन्द केसी र नवराज शर्माको नेतृत्वमा विद्यार्थीहरु केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा पुगेर समग्र आयुर्वेद क्षेत्रको बारेमा जानकारी लिएका छन् । केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा अध्यापनसंगै बिरामीको पनि उपचार हुने गरेको छ ।
अध्यापनका साथसाथै बिरामीहरूको प्रत्यक्ष उपचार समेत हुँदै आएको केन्द्रीय आयुर्वेद विद्यापीठमा विद्यार्थीहरूले आयुर्वेदिक उपचार पद्धति, आयुर्वेद डाक्टर अध्ययनका लागि आवश्यक योग्यता तथा प्रक्रिया र मानव स्वास्थ्यका विभिन्न अङ्गहरूका बारेमा व्यावहारिक ज्ञान प्राप्त गरेका छन् ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अवलोकनसँग जोडेर शिक्षण गराउने उद्देश्यले आयोजना गरिएको यस अध्ययन अवलोकन भ्रमणले विद्यार्थीहरूलाई आयुर्वेद र स्वास्थ्य विज्ञानप्रति थप उत्सुक र जानकार बनाएको शिक्षक नन्द केसीले बताउनुभयो ।
त्यस अवसरमा क्याम्पस प्रमुख डा. रामचन्द्र अधिकारीले आयुर्वेद चिकित्सासम्बन्धी उच्च शिक्षाको अध्यापन प्रक्रिया, विद्यापीठ अन्तर्गतको आयुर्वेद अस्पतालमा सर्वसाधारणका लागि ओपिडी। अन्तरङ्ग, र आकस्मिक स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनुभयो ।

यस्तै डा. प्रविन कुमार झाले पञ्चकर्म तथा योग सेवाको बारेमा जानकारी गराउनुभयो । यस्तै डा. सुरेन्द्र चौधरीले विभिन्न आयुर्वेदिक औषधि, मानव शरीरका अङ्गहरूबारे प्रयोगात्मक अध्ययन/अनुसन्धानबारे जानकारी गराउनुभएको हो ।






















