दाङ । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री–‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ । विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गरिएको हो ।
त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो । सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उहाँले बताउनुभयो ।

सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो । सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ ।
त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान छ । सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने नखुलेको पनि आयोजना प्रमुख ओझाले जानकारी दिनुभयो ।






















