२०८३ भाद्र १९ गते शुक्रवार

रसुवा बाढीका मृतकको संख्या १ हजार २८७ पुग्यो,३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति


दाङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार यस महाविपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।

शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । शुक्रबार मध्याह्नसम्म फेला परेका १ हजार २८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन् । फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत भएको छ ।

शुक्रबार मध्याह्नसम्म चितवन, ३ सय ५९ जना, नवलपरासी (पूर्व)मा २ सय १९ जना, नवलपरासी (पश्चिम)मा २ सय १२ जना, नुवाकोटमा १ सय ८४ जना, रसुवामा १ सय ४० जना, गोरखामा ७२ जना, धादिङमा ६३ जना र तनहुँमा ३८ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५ सय ८३ जना विदेशी नागरिक रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना रहेका छन् । सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने अनुमान प्राधिकरणको छ ।

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने उनीहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्, जसमध्ये ३०३ जना विदेशी नागरिक छन् ।

शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन् ।

यस्तै ७ हजार ५ सय ७० निजी घरहरूमा क्षति पुगेको छ । ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

विपद् व्यवस्थापनका लागि देशभर कुल २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिँदै काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको छ ।

सरकारले तत्कालको राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

बाढीका कारण अवरुद्ध सञ्चार सेवाहरू क्रमशः सुचारु हुन थालेका छन् । नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस