२०८३ भाद्र २२ गते सोमवार

हालसम्म १ हजार ३५५ जनाको शव फेला, ४ हजार ९ सय १६ सम्पर्कविहीन


दाङ। भोटेकोशी बाढीपहिरोमा परि मृत्यु भएकामध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ४ हजार ९ सय १६ जना अझै पनि सम्पर्कविहीन रहेका छन् ।

सोमबार बिहान ११ बजेसम्म फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ६३ जना, नवलपरासी पूर्वमा २ सय २२ जना, नवलपरासी पश्चिममा २ सय २१ जना, नुवाकोटमा १ सय ९७ जना र रसुवामा १ सय ६९ जना रहेका छन् ।

यस्तै गोरखामा ७५ जना, धादिङमा ७० जना र तनहुँमा ३८ जनाको शव फेला परेको छ भने कतिपय शवहरूमा विभिन्न मानव अङ्गहरू मात्र समाविष्ट छन् । यसरी फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको सनाखत भई बुझाइसकिएको प्राधिकरणले जनाएको छ ।

बाढीपहिरोका कारण हालसम्म करिब ४ हजार ९ सय १६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा जिल्ला प्रशासन कार्यालय रसुवाको विवरण अनुसार १ हजार ९ सय ६७ जना र नुवाकोटको विवरण अनुसार २ हजार ३ सय ४० जना नेपाली नागरिक रहेका छन् ।

यसका अतिरिक्त करिब १ सय जना सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ९ जना विदेशी नागरिकहरू समेत अझै बेपत्ता छन् । प्राधिकरणका अनुसार सम्पर्कविहीनको यस सूचीमा पहिचान नभएका शवहरू र यसअघि नै उद्धार गरिएका व्यक्तिहरू समेत परेको हुनसक्ने भएकाले विवरणहरू रुजु गर्ने काम तीव्र रूपमा भइरहेको छ ।

विपद् प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको सुरक्षित उद्धार गरिसकिएको जनाइएको छ । उद्धार गरिएकाहरूलाई आश्रय दिनका लागि स्थापना गरिएका ३१ वटा होल्डिङ सेन्टरहरूमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्, जसमा नुवाकोटमा २ हजार ६ सय ५१ जना, रसुवामा ६ सय ६९ जना र धादिङमा २ सय १३ जना रहेका छन् ।

त्यस्तै, बाढीपहिरोमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये नेपाली सेनाद्वारा ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरी बलद्वारा २ हजार ९ सय ७० जनाको उपचार भएको छ । यसैगरी विभिन्न अस्पतालहरूमा उपचार गराएका ३ सय २३ जनामध्ये हालसम्म २ सय २८ जना निको भएर डिस्चार्ज भइसकेको प्राधिकरणले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस