दाङ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने ग्वारखोला पुलबाट सवारीसाधन संचालनमा आएका छन् । गत असोज १० गतेको वर्षाका कारण पुलको पूर्वतर्फ भत्किएपछि सवारी आवागमनमा समस्या भएको थियो ।
भत्किएको भागमा मर्मतपछि आज बिहानदेखि पुलमा साना सवारीसाधन संचालनमा आएको तुलसीपुर उपमहानगरपालिका कार्यबहाक प्रमुख माधव वलीले बताउनुभयो ।
भत्किएको ठाउँमा निर्माण कम्पनि सगुन कन्ट्रक्सनले तोकिएको अवधिमै काम गरेपछि अवरुद्ध सडकमा सवारीसाधन संचालनमा आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पुलमा मोटरसाइकल, अटो, जिप, कार लगायतका साना सवारी साधन संचालन हुने व्यवस्था गरिएको छ । तर ठुला सवारी साधनका लागि वैकल्पिक सडकको व्यवस्था गरिएको छ ।
ठुला सवारीसाधन पुलको उत्तरतर्फ र दक्षितर्फ दुवैतिरबाट संचालन हुने व्यवस्था गरिएको छ । पुलको उत्तरतर्फको भागबाट तुलसीपुरबाट घोराहीतर्फ जाने ठुला साधन संचालन हुनेछन् भने दक्षितर्फबाट घोराहीबाट तुलसीपुरतर्फ आउने ठुला सवारी साधन संचालन हुनेछन् ।
पुलको पूर्वतर्फ भत्किएका कारण घोराही जाने र तुलसीपुरतर्फ आउने सवारीसाधनले राप्ती बबई क्याम्पसको वैकल्पीक सडक प्रयोग गरिरहेका थिए । घुमाउरो सडकका कारण यात्रु र यातायात व्यवसायी दुवैलाई समस्या भएको थियो ।


























