तुलसीपुर । आजभन्दा १३ वर्षअघि ज्ञानज्योति स्कुलले वर्षभरिको पारिश्रमिकबापत एकैपटक ५० हजार रुपैयाँ दिँदा तुलसीपुर-७, पर्सेनीका बब्लु खान निकै खुसी हुनुभयो। जीवनमा पहिलोपटक एकमुष्ट त्यति ठूलो रकम उहाँले देख्नुभएको थिएन। पहिलोपटक कमाइको पैसा ल्याएर ढोग गरी सुरक्षित राख्नुभयो। संयोग, उहाँले त्यसबेला राखेको रकम अहिलेसम्म खर्च गर्नुपरेको छैन। त्यही पैसा नै व्यवसायको मूल धन भएको बब्लु बताउनुहुन्छ।
५० वर्षीय बब्लुको जीवनमा त्यो रकम एउटा अविस्मरणीय सम्झना बनेर रहेको छ। २२ वर्षदेखि निरन्तर कपाल काट्ने व्यवसाय सञ्चालन गरेर परिवारको जीविकोपार्जन गर्नु र यही पेसालाई पुस्तान्तरण गर्दै जानु मुख्य चुनौतीका बीच बब्लुको परिवारमा कपाल काट्ने पेसा चार पुस्तादेखि चल्दै आएको छ। उहाँका हजुरबुवाले पनि यही पेसा गर्नुभयो भने बुबा नसिर खानले पनि पर्सेनीमै करिब १५ वर्षसम्म यही व्यवसाय गर्नुभएको थियो। बुबाबाट सिकेको सीपलाई निरन्तरता दिनुभएका बब्लुले अहिले आफ्ना छोराहरूलाई पनि यही पेसामा जोड्दै लैजानुभएको छ।
बब्लु ढिलोमा बिहान ७ बजे पसल खोल्नुहुन्छ। दिनभरि कपाल काट्ने, दाह्री मिलाउने, अनुहारको स्याहार गर्ने र कपालमा रङ लगाउने काममा व्यस्त देखिनुहुन्छ। पर्सेनीमा उहाँलाई नचिन्ने सायदै कम छन्। ग्राहकको चापअनुसार उहाँको दैनिक कारोबार दुई हजार रुपैयाँसम्म हुन्छ। ग्राहक बढी आउने समयमा भने दैनिक पाँचदेखि छ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ।
उहाँको व्यवसाय अहिले एउटा पसलमा मात्र सीमित छैन। जेठा छोरा सकिल खान र माइला छोरा वकिल खानले तुलसीपुर-६, गुल्मचोकमा अर्को पसल सञ्चालन गरिरहेका छन्। कान्छा छोरा साहिल खान भने पर्सेनीस्थित पसलमा बुबालाई सघाउँछन्। दुवै पसलबाट मासिक दुई लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको बब्लु बताउनुहुन्छ।
व्यवसाय सुरु गर्दा पसलको मासिक भाडा पाँच सय रुपैयाँ थियो। अहिले भाडा बढेर १० हजार रुपैयाँ पुगेको छ। भाडा र अन्य खर्च बढ्दै गए पनि उहाँले व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ। यही पेसाबाट भएको आम्दानीले दुई वर्षअघि ३० लाख रुपैयाँमा स्कार्पियो गाडीसम्म खरिद गर्नुभएको थियो।

तर गत वर्ष भारतमा भएको दुर्घटनामा गाडी दुर्घटनामा परेपछि उहाँको गाडी व्यवसायमा धक्का लाग्यो। वर्षौंको मेहनतबाट आर्थिक अवस्था सुधार गर्दै लैजानुभएका बब्लु समस्याबाट विचलित हुनुभएन। गाडी दुर्घटनामा परे पनि उहाँले आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिनुभयो। उहाँको दिनचर्या फेरिएन, बिहान पसल खोल्ने र दिनभरि ग्राहकको सेवामा खटिने क्रम चलिरह्यो।
बब्लुका तीन छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ। जेठा र माइला छोराले कक्षा पाँचपछि पढाइ छाडेका थिए भने कान्छा छोरा साहिलले कक्षा ११ सम्म अध्ययन गरेका छन्। छोराहरू यही पेसामा अघि बढ्न इच्छुक छन्। बब्लुको पनि आफ्ना सन्तानले स्वदेशमै अवसर खोजेर आत्मनिर्भर बनून् भन्ने चाहना छ।
पर्सेनीमा कपाल काट्ने धेरै व्यवसाय खुले पनि सबै लामो समयसम्म टिक्न सकेनन्। बब्लु भने सीप, मेहनत र ग्राहकको विश्वासका आधारमा आफ्नो व्यवसायमा टिकिरहनुभयो। बुबाबाट सिकेको सीपलाई छोराहरूसम्म पुर्याउँदै उहाँले परिवारका सदस्यलाई समेत एउटै पेसामा जोड्न सफल हुनुभएको छ।
सीप र जाँगर भए नेपालमै आम्दानी गर्ने प्रशस्त सम्भावना छ,’ बब्लु बताउनुहुन्छ। उहाँको जीवनले ठूलो लगानी वा आकर्षक अवसरको खोजीभन्दा आफूले जानेको काममा निरन्तर लागिरहनुको महत्त्व देखाउँछ। कपाल काट्ने सीपबाट परिवारको भविष्य निर्माण गरेका बब्लुले आफ्नो पेसालाई आम्दानीको स्रोतमा मात्र सीमित राख्नुभएको छैन, चार पुस्ताको विरासतका रूपमा पनि जोगाइरहनुभएको छ।


























