२०८३ कार्तिक ७ गते शनिवार

कात्तिक ११ देखि १५ गतेसम्म वर्षा हुने संभावना

दाङ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा पनि मौसम बदली तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनाअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवातीय आँधीमा परिणत हुने सम्भावना छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

यस प्रणालीको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ र यसको प्रभाव कति गम्भीर हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल, भू–उपग्रहका तस्बिर तथा उपलब्ध तथ्याङ्कको विश्लेषणमार्फत प्रणालीको विकासक्रम र सम्भावित प्रभावबारे निरन्तर निगरानी भइरहेको छ ।

थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना अद्यावधिक गरिने जनाइएको छ । महाशाखाले मौसमको अवस्थाबारे जानकारी लिन तथा सम्भावित जोखिमबाट बच्न विभागबाट जारी हुने आधिकारिक सूचनालाई नियमित रूपमा हेर्नसमेत अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस