दाङ । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा आज तुलसीपुर–४ रक्षाचौर विद्यालयमा भएको छ । साधारणसभाको दोस्रो दिन आज तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।
साधारणसभामा सहभागी शेयर सदस्यहरूले सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानीको विकास हुनुका साथै ऋण प्राप्त गर्न र व्यवसाय सञ्चालन गर्न सहज भएको बताएका छन् ।

तुलसीपुर–३ डाँडाखुटीका चेतना कँडेल सहकारीमा आबद्ध भएको सात वर्ष पुगेको छ । उहाँले सहकारीबाट कम ब्याजदरमा ऋण प्राप्त हुँदा फर्म सञ्चालन गर्न सहज भएको बताउनुभयो । गाउँघरमा ऋणका लागि अन्य व्यक्तिसँग भौँतारिनुपर्ने अवस्था अन्त्य भएको बताउँदै उहाँले समूहका माध्यमबाट गाउँमै ऋण उपलब्ध हुने व्यवस्थाले सदस्यहरूलाई सहज भएको जानकारी दिनुभयो ।
यस्तै, तुलसीपुर–४ नयाँगाउँका सदस्य अञ्जु दिस्वा मगरले अन्य सहकारीको तुलनामा हाम्रो पहुँच सहकारी राम्रो लागेकाले आफू आबद्ध भएको बताउनुभयो । सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानीको विकास भएको उहाँको भनाइ छ । गाउँमै समूह गठन गरी बचत गर्ने व्यवस्था भएकाले संस्थामा धाउनुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो । सहकारीले सञ्चालन गरेको विद्यालयमा छोराछोरी पढाउँदा मासिक शुल्कमा २० प्रतिशत छुट पाउने सुविधाले पनि आफूलाई सहज भएको उहाँले जानकारी दिनुभयो ।
तुलसीपुर–७ गणेशपुरका सीता न्यौपाने पनि सहकारीमा आबद्ध भएको सात वर्ष पुगेको छ । संस्थाले सञ्चालन गरेका विभिन्न विभागबाट उपलब्ध हुने छुट तथा सुविधाले आफूलाई लाभ पुगेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सीमित सदस्य र थोरै पुँजीबाट सुरु भएको सहकारी अहिले पाँच हजार चार सयभन्दा बढी शेयर सदस्यसहित तुलसीपुरका १९ वटै वडामा विस्तार भएको बताउनुभयो । उहाँका अनुसार संस्थाले हालसम्म एक अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ । संस्थाको वासलात ४५ करोड रुपैयाँभन्दा बढी पुगेको जानकारी दिँदै अध्यक्ष भण्डारीले संस्थाले ११८ जनालाई प्रत्यक्ष रोजगारी र एक हजारभन्दा बढीलाई स्वरोजगार प्रदान गरेको बताउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले आर्थिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षका लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ । आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल आम्दानी ७० करोड ४२ लाख ९१ हजार २८५ रुपैयाँ ८४ पैसा रहेकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा ८७ करोड १० लाख ५६ हजार ३ सय रुपैंया आम्दानी गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । यो वर्षको खुद बचत १ करोड ९७ लाख ३३ हजार ५११ रुपैंया ३० पैसा रहेको बताउनुभयो ।
साधारणसभामा संस्थाका सचिव जीवराज अधिकारीले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीले २५ जना शेयर सदस्यबाट स्थापना भएको संस्था अहिले विस्तार हुँदै गएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारीले गर्नुभएको थियो । साधारणसभाको अध्यक्षमण्डलको संयोजकमा रामबहादुर वली, सदस्यमा तुलसीप्रसाद भण्डारी र चिना डाँगी रहनुभएको थियो ।
साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १३ बुँदे प्रस्तावमाथि छलफल सुरु भएको छ । सचिव अधिकारीका अनुसार प्रस्तावमा बितेको आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, कार्यविधि स्वीकृति तथा संशोधन र सहकारी एकीकरणसम्बन्धी अख्तियारीका विषय समेटिएका छन् ।
साधारणसभा कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । संस्थाले भोली ९ गते बनगाउँ स्कुल, कात्तिक १० गते कालाखोला माध्यमिक विद्यालय र कात्तिक ११ गते दुधरासस्थित जनकल्याण माध्यमिक विद्यालयमा साधारणसभा सञ्चालन गर्ने जनाएको छ ।


























