दाङ । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा आजदेखि शुरु हुने क्रिकेट महाउत्सव एनपीएल तेस्रो संस्करण विशेष हुँदैछ ।
एनपीएललाई आईसीसीको आधिकारिक मान्यता, त्यसकै कारण विदेशी ठूला क्रिकेट स्टारहरूको उल्लेख्य सहभागिता, दर्शकका लागि रंगशालामा थपिएका सुविधा र संरचनासँगै अम्पायरको निर्णयमाथि रिभ्यु अर्थात समीक्षा गर्न पाइने डीआरएस प्रविधिको कारणले यो संस्करण विशेष हुन लागेको हो ।
नेपालमै पहिलोपटक निर्णय समीक्षा प्रणाली अर्थात डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिसहित खेल हुँदैछ । अब अम्पायरको निर्णयमाथि खेलाडीले ‘रिभ्यु’ माग गर्न पाउनेछन् ।
डीआरएस प्रणालीमा एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको ‘लाइन’ स्क्रिनमा देखाइदिनेछ ।
यदि बलरले फ्याँकेको बलले ब्याटरको ब्याट वा ब्याट समातेको हातमा नलागी सिधै उसको शरीर वा प्याड (खुट्टा) मा लाग्छ र यदि त्यो खुट्टा त्यहाँ नभएको भए बल सिधै गएर विकेट (स्टम्प) मा लाग्ने थियो भन्ने अम्पायरलाई लाग्छ भने, त्यस्तो अवस्थामा ब्याटरलाई एलबीडब्लू आउट दिइन्छ ।
डीआरएस प्रणालीमा ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन र साउन्ड वेभ टेक्नोलोजी पनि प्रणालीमा हुनेछ । साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी पनि भिडियो रिभ्युमा देख्न पाइनेछ ।
डीआरएस प्रविधिले एनपीएललाई थप विश्वसनीय बनाउने क्यानका सचिव पारस खड्काले बताउनुभएको छ ।


























