दाङ । चिफ कोच पार्वती राईको नेतृत्वमा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गरेको छ। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले श्रीलङ्कामाथि शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।
जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ ।
आइची–नागोयामा बिहीबार भएको लिग चरणको खेलमा नेपालले श्रीलङ्कालाई ३४–२५ अंकले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले १९–१३ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि नेपाल १५–१२ ले अघि रहँदै समग्रमा ३४–२५ को जित निकाल्न सफल भयो ।
यसअघि नेपालले लिग चरणको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेईसँग पराजित भएको थियो ।
नेपाली महिला कबड्डी टोलीको नेतृत्व चिफ कोच पार्वती राईले गर्नुभएको छ । यसअघि चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि पार्वती राईको नेतृत्वमा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक रजत पदक जितेको थियो ।
शुक्रबार हुने सेमिफाइनल खेलमा नेपाल विजयी भएमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजित भएमा भने नेपालले कांस्य पदक प्राप्त गर्नेछ ।


























