दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २० औँ वार्षिक साधारण सभा चौथो दिन मंगलबार मावि कालाखोलामा गरेको छ । कालाखोलामा एकाइ केन्द्रमा वडा नम्बर ४ र ७ अन्तर्गत खाद्रे, सुकिदह, गहतेरा, बनहरी, घुसेरी, बम्नई, प्रसेनी, बुढागाउँ, हलवार, बतासे, बायखोला, नवलपुर र कालाखोला तथा वडा नम्बर १६, १७, १८ र १९ अन्तर्गत चौवाखोलादेखि पश्चिमतर्फका सबै सदस्यलाई पायक पर्ने गरी गरिएको हो ।
तुलसीपुर–७ झुमरेमा प्रधान कार्यालय रहेको सहकारी संस्थाले चौथो दिन मावि कालाखोलामा साधारणसभा गरेको हो । चौथो दिनको साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संस्थाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको कार्यक्षेत्र बढाउने नीति सभामा प्रस्तुत गर्नुभयो ।
संस्थाको कार्यक्षेत्र दाङ जिल्लाभर विस्तार गर्ने संस्थाको नीति तथा कार्यक्रम रहेको उहाँले बताउनुभयो । यस्तै पशुपालक किसानलाई सहजताका लागि संस्थाले पशुप्राविधिकको व्यवस्था गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्माले लेखा समितिको प्रतिवेदन पेश गर्नुभयो । उहाँले संस्थाको सबल पक्ष र सुधार गर्नुपर्ने पक्षसहितको प्रतिवेदन पेश गर्नुभएको हो ।
यसैगरी संस्थाका सचिव जीवराज अधिकारीले प्रगति समिक्षा प्रतिवेदन पेश गर्नुभयो । उहाँले प्रतिवेदन अध्ययन गरेर कार्तिक १३ गतेसम्म सुझाव पेश गर्न पनि सम्पूर्ण शेयर सदस्यलाई आग्रह गर्नुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार संस्थामा बितेको आर्थिक वर्ष २०८२/२०८३ सम्म ४ करोड २२ लाख २२ हजार शेयर पुँजी पुगेको छ भने चालु आर्थिक वर्ष २०८३/२०८४ मा ४ करोड ९१ लाख शेयर पुँजी पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार नारायणप्रसाद भण्डारीले संस्थागत विकासका लागि शेयर सदस्यको सुझाव महत्वपूर्ण रहेको बताउनुभयो । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारीले गर्नुभएको हो ।
साधारणसभामा चौथो दिन मंगलबार अध्यक्ष मण्डलको संयोजकमा रामबहादुर वली रहनुभएको थियो भने सदस्यमा ढकबहादुर बस्नेत र टिका न्यौपाने रहनुभएको थियो । साधारणसभामा संस्थाको नीति तथा कार्यक्रमसहित बजेट र लेखा प्रतिवेदनसहित १३ बुँदे प्रस्तावमाथि छलफल भइरहेको छ ।
साधारण सभामा रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले निःशुल्क आँखा जाँच गरिरहेको छ भने तुलसीपुरस्थित सिटी अस्पतालले प्रेसर र सुगर निःशुल्करुपमा जाँच गरिरहेको छ । संस्थाले भोलि पाँचौ दिन दुधरासस्थित जनकल्याण माविमा साधारण सभा गर्नेछ ।

























