दाङ । श्रम संस्कृति पार्टी तुलसीपुर उपमहानगरपालिका नगर कमिटीले पार्टीको स्थापना दिवसका अवसरमा सरसफाइ तथा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टीका नगर अध्यक्ष ईश्वरीप्रसाद गैरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सहसचिव टोपबहादुर महतराको उपस्थितिमा बसेको बैठकले आगामी कार्तिक १६ गते पार्टीको पहिलो स्थापना दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टीका उपाध्यक्ष गणेशबहादुर घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि महतराले पार्टीको योजना, निर्णय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि र पार्टीका दायित्वका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । बैठकको सञ्चालन नगर सचिव मानबहादुर घर्तीले गर्नुभएको थियो ।
स्थापना दिवसका अवसरमा तुलसीपुर सेन्टर माध्यमिक विद्यालयको गेट अगाडिदेखि सडकको दायाँबायाँ हुँदै त्रिसिद्धेश्वरी मन्दिरसम्म बिहान ७ बजे सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी तुलसीपुरमा रगतको अभाव रहेको भन्दै सम्पूर्ण श्रमदाता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी गराएर दिउँसो २ बजे रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । रक्तदान कार्यक्रम राप्ती प्रादेशिक अस्पतालको उत्तरतर्फ रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा सञ्चालन हुनेछ ।
बैठकले पार्टीको सम्पर्क कार्यालय व्यवस्थापन गर्ने, तुलसीपुर नगरको वस्तुस्थिति र आवश्यकताअनुसार प्रत्येक आइतबार नियमित श्रम शिविर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडासम्म पार्टी संगठन विस्तार गरी आगामी पुसको पहिलो साताभित्र नगर सम्मेलन गर्ने निर्णय गरिएको छ । बैठकले माधव गौतमलाई पार्टीको सल्लाहकारमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

























