२०८३ कार्तिक १९ गते बिहिवार

दाङका विभिन्न वनमा लुकाइएका १४ नाल भरुवा बन्दुक बरामद


दाङ । दाङका विभिन्न सामुदायिक वन तथा झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरेको हो ।

प्रहरीले कात्तिक १७ गते (आज) बिहान ५बजेदेखि ९ बजेसम्म जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–५ स्थित सिमौरा सामुदायिक वनको झाडीबाट एक नाले ५ वटा भरुवा बन्दुक बरामद गरेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट एक नाल, प्रहरी चौकी हाँसिपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–८ स्थित न्यू कालिका सामुदायिक वनबाट एक नाल र प्रहरी चौकी पुरन्धाराबाट खटिएको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–१ स्थित रौसिङखोलाको बगर नजिकैको झाडीबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको टोलीले लमही नगरपालिका–३ स्थित नारायणस्वर सामुदायिक वनको झाडीबाट एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी हेमबहादुर केसीका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका अवैध हातहतियार नियन्त्रणका लागि प्रहरीले खोजतलास तथा अनुसन्धानलाई निरन्तरता दिएको छ ।

बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस