२०८३ मङ्सिर ९ गते बुधवार

भोटेकोशी बाढी प्रभावित परिवारलाई घरभाडा रकम वितरण शुरु


दाङ । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण शुरु गरिएको छ ।

सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो ।

मेयर राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई रकम उपलब्ध गराउन थालिएको हो । लाभग्राही कायम भएका वडा–१० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन शुरु गरिएकोमा अहिले प्रभावित सबै वडामा पुगेको मेयर श्रेष्ठले बताउनुभएको छ ।

विवरण अद्यावधिक गर्ने काम भैरहेको र लाभग्राही कायम भएका सबैलाई जतिसक्दो छिटो रकम उपलब्ध गराउने उहाँको भनाइ छ । गएको भदौ १० को बाढीपछि विदुर नगर कार्यपालिकाको भदौ २० मा बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसलगत्तै सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित ठाउँमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च ६ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो । त्यो घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी विदुर नगरपालिकाले घरभाडाबापतको रकम उपलब्ध गराउन थालेको हो ।

लाभग्राही पहिचानका लागि आवश्यक विवरण सङ्कलन तथा प्रमाणीकरणमा समय लागेकाले घरभाडाबापतको रकम वितरण गर्न ढिलाइ भएको उपमेयर प्रभा बोगटीले बताउनुभएको छ । उहाँका अनुसार विदुर नगरपालिकामा बाढी प्रभावित १ हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् ।

केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुन सक्छ । सरकारले बाढी प्रभावित ४ जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएको परिवारमा हरेक थप सदस्यका लागि प्रतिमहिना दुई हजारका दरले थप रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ ।

ती पालिकाले लाभग्राही यकिन भएपछि रकम वितरण शुरु गर्ने जनाएका छन् । बाढीको तीन महिना भैसक्दा पनि सरकारले पुनर्स्थापनामा चासो नदिएको प्रभावितको गुनासो छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस