दाङ। तिहारपछि दाङका पर्यटकीयस्थलहरूमा बनभोज खानेको भिडभाड बढेको छ । दशैं, तिहारको बिदामा पर्यटकको भीडभाड बढेका प्रमुख पर्यटकीय गन्तव्यहरूमा अहिले पिकनिकका लागि पुग्ने समूहको संख्या उल्लेख्यरूपमा बढेको छ ।
पर्यटक तथा पिकनिकका लागि आउनेहरूको संख्या बढेसँगै कतिपय स्थलमा व्यवस्थापन र ठाउँ अभावको चुनौतीसमेत देखिन थालेको छ । तुलसीपुर–७ गणेशपुरस्थित गणेश सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको राप्ती शान्ति उद्यानमा पनि उद्यान अवलोकन तथा पिकनिकका लागि आउनेहरूको संख्या बढ्दो छ ।
शनिबार र आइतबार मात्रै चार हजार पाँच सयजनाले उद्यानको अवलोकन गरेका छन् भने ४८ समूहले पिकनिक मनाएको गणेश सामुदायिक वन समूहका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो ।
घोराही–१३ मा रहेको बाह्रकुने दहमा पनि तिहारपछि दिनप्रतिदिन पिकनिक मनाउन आउने समूहको संख्या बढ्दै गएको बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीले बताउनुभयो ।
तिहारको अर्को दिनबाटै पिकनिकका लागि आउनेक्रम जारी छ । अन्य समयमा पूजापाठ तथा अवलोकनका लागि आउनेहरूको चहलपहल हुने गरेको छ ।
यस्तै बबई गाउँपालिकाको पुरन्धारा झरनामा अहिले पिकनिकका लागि पुग्नेहरूको संख्या उल्लेख्यरूपमा बढेको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक चार सय जनासम्म झरना अवलोकन र पिकनिकका लागि आउने गरेका छन् ॥


























