दाङ । मेहनत, लगनशीलता र निरन्तर प्रयास गर्ने हो भने आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ तुलसीपुरका डिल्लीबहादुर ओली ।
तुलसीपुर उपमहानगरपालिका–१६ रावतगाउँका ओलीले २० वर्षसम्म टेलिकम क्षेत्रमा जागिर गर्नुभयो । तर, अहिले उहाँ आफ्नै गाउँमा पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ ।
युनाइटेड टेलिकममा लामो समय काम गर्नुभएका ओलीले जागिरे जीवनभन्दा आफ्नै गाउँमा केही गर्ने सोच बनाएपछि तीन वर्षअघि एउटा भैँसीबाट पशुपालन व्यवसाय सुरु गर्नुभएको थियो ।
वैदेशिक रोजगारी तथा सहरमा अवसर खोज्दै भौँतारिनुभन्दा आफ्नै ठाउँमा श्रम र सीप प्रयोग गरेर उद्यम गर्ने उद्देश्यले उहाँले जागिर छाडेर कृषि तथा पशुपालन व्यवसाय रोज्नुभयो ।
सुरुवातमा एक लाख ५० हजार रुपैयाँ लगानी गरेर व्यवसाय थाल्नुभएका ओलीले क्रमशः लगानीसँगै व्यवसाय पनि विस्तार गर्दै लैजानुभएको छ । अहिले उहाँको कुल लगानी करिब २५ लाख रुपैयाँ पुगेको छ ।
‘ओली पशुपन्छी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्दै आउनुभएका उहाँको गोठमा अहिले गाई र भैँसी गरी ११ वटा पशु छन् ।
व्यवसाय सुरु गर्नुअघि नै उहाँले व्यवस्थित गोठ निर्माण गर्नुका साथै पशुहरूलाई पानीको सुविधा पुर्याउन बोरिङसमेत खन्नुभएको थियो । सुरुका दिनमा गाउँघरमै दूध बिक्री गर्ने र घोराहीसम्म पुर्याउने गर्नुभएका ओलीले अहिले दैनिक ६५ लिटरसम्म दूध हाम्रो पहुँच डेरी उद्योगमा बिक्री गर्दै आउनुभएको छ । गाईभैँसी पालनबाट खर्च कटाएर मासिक ८५ हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
ओली हरेक दिन बिहान ३ बजे उठेर गोठ सरसफाइ तथा पशुहरूको हेरचाहमा जुट्नुहुन्छ । बिहान ५ बजेसम्म दूध लिएर हाम्रो पहुँच डेरी उद्योग पुग्नु उहाँको नियमित दैनिकी बनेको छ । पशुका लागि आवश्यक घाँस, पराल र अन्य आहारको व्यवस्थापन पनि आफैँले गर्दै आउनुभएको छ । पशुको आहाराका लागि उहाँले सात कट्ठा जग्गामा घाँस खेतीसमेत गर्नुभएको छ ।
पशुपालन व्यवसाय विस्तार गर्ने क्रममा उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ कर्जा लिएर लगानीसमेत बढाउनुभएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्न पाउँदा बजारको समस्या कम भएको उहाँको अनुभव छ । सहकारीले किसानलाई दूध बिक्रीको सुनिश्चितता गरिदिनुका साथै विभिन्न माध्यमबाट सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
पछिल्लो समय हाम्रो पहुँच सहकारीले एउटा भैँसी खरिद गर्ने किसानलाई पाँच हजार रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएपछि आफू थप उत्साहित भएको उहाँले बताउनुभयो । सहकारीको उक्त कार्यक्रमबाट प्रोत्साहित हुनुभएका ओलीले अब पाँच वटासम्म भैँसी थप्ने योजना बनाउनुभएको छ ।
पशुपालनसँगै उहाँले लोकल कुखुरापालनलाई पनि व्यवसायको अर्को आधार बनाउनुभएको छ । यसअघि ब्रोइलर कुखुरापालनका लागि तयार गरिएको फार्ममा अहिले लोकल कुखुरा पाल्न थाल्नुभएको छ । फार्ममा हाल ४० वटा माउ लोकल कुखुरा र करिब दुई सय चल्ला रहेका छन् । कुखुरापालनबाट वार्षिक करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
व्यवसायमा परिवारको साथ र सहयोगले ठूलो हौसला मिलेको उहाँ बताउनुहुन्छ । पशुपालन सहज व्यवसाय नभए पनि निरन्तर मेहनत गर्न सके आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । पछिल्लो समय सुखसुविधाको खोजीमा धेरै मानिस पशुपालनबाट टाढिँदै गएको बताउँदै उहाँले श्रम गर्न सके गाउँमै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
ओलीलाई तुलसीपुर उपमहानगरपालिकाले गत वर्ष उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत गरेको थियो । २० वर्षको जागिरे अनुभवपछि कृषि उद्यममा होमिनुभएका ओली अहिले व्यवसायलाई थप विस्तार गर्ने योजनामा हुनुहुन्छ । उहाँले फार्ममा काम गर्ने कर्मचारीसमेत खोजिरहनुभएको छ । आगामी दिनमा पशुपालन व्यवसाय विस्तार गरी मासिक आम्दानी डेढ लाख रुपैयाँसम्म पुर्याउने उहाँको लक्ष्य छ ।
आफ्नै माटोमा श्रम, सीप र लगनशीलता लगाउन सके रोजगारी खोज्न विदेश वा सहर धाउनैपर्छ भन्ने छैन भन्ने उदाहरण ओलीले प्रस्तुत गर्नुभएको छ ।
हाम्रो पहुँच डेरीले दूध बिक्रीमा सहज
पशुपालन सुरु गरेपछि खत्रीले दूध बिक्रीमा समस्या भोग्नुपरेको थियो । सुरुमा दूध कहाँ लगेर बिक्री गर्ने भन्ने जानकारी नहुँदा गाउँमै दूध बेच्ने गर्नुभएको थियो । तर गाउँमा दूध बिक्री गर्दा कतिपय अवस्थामा समयमै भुक्तानी नपाउने, घरघर पुग्नुपर्ने समस्या थियो ।
तर पछि हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिएपछि भने दूध बिक्री गर्न सहज भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँ दैनिक बिहान करिब ६ बजे हाम्रो पहुँच डेरी उद्योगमा पुगेर दूध बिक्री गर्नुहुन्छ । डेरीमा दूध बिक्री गरेबापतको रकम सिधै खातामा जम्मा हुने भएकाले आर्थिक कारोबार सहज भएको उहाँको भनाइ छ ।
‘हातमा पैसा लिनुभन्दा खातामा जम्मा हुँदा बचत गर्ने बानीको पनि विकास हुन्छ ।’ उहाँ भन्नुहुन्छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले किसानले उत्पादन गरेको दूधको बजारीकरणका लागि डेरी उद्योग सञ्चालन गरेपछि स्थानीय किसानलाई दूध बिक्री गर्न सहज भएको छ । यसले पशुपालन तथा दूध उत्पादनमा लाग्न चाहने किसानलाई समेत प्रोत्साहन मिलेको छ ।
सहकारीको कर्जाले व्यवसाय विस्तार
पशुपालन व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले खत्रीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिनुभएको छ । बैंकबाट कर्जा लिन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सहकारीबाट कर्जा लिन आफूलाई सहज भएको उहाँ बताउनुहुन्छ । गाउँघरमा अन्य स्रोतबाट ऋण लिँदा ब्याज बढी पर्ने भएकाले सहकारीमार्फत ऋण लिनु उपयुक्त लागेको उहाँको भनाइ छ ।
सहकारीबाट सहज रूपमा ऋण प्राप्त हुँदा व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । आगामी दिनमा पशुपालन व्यवसायलाई अझ व्यवस्थित बनाउँदै ३० देखि ३५ वटासम्म गाईभैँसी पाल्ने उहाँको लक्ष्य छ ।
खत्रीले ‘चित्रीपाटन हर्बल एग्रोफर्म प्रणाली’ नामक कम्पनीसमेत दर्ता गरिसक्नुभएको छ । आफ्नै जग्गामा घाँस खेती, डेरी उद्योगमार्फत दूधको बजारीकरण र सहकारीबाट प्राप्त ऋणको सदुपयोग गर्दै उहाँ व्यवसाय विस्तारको योजनामा अघि बढिरहनुभएको छ ।
राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरी कृषि क्षेत्रका विभिन्न परियोजनामा काम गरेको अनुभवलाई व्यावसायिक जीवनमा रूपान्तरण गर्नुभएका खत्रीले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै उद्यम गर्ने बाटो रोज्नुभएको छ । परिवारसँगै बसेर आफ्नै देशमा मेहनत गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको विश्वास छ ।
सानो लगानीबाट सुरु भएको पशुपालन व्यवसायलाई विस्तार गर्दै आत्मनिर्भर बन्ने प्रयासमा रहनुभएका खत्रीको यात्रा स्वदेशमै केही गर्न चाहने युवाका लागि प्रेरणादायी बनेको छ ।


























