दाङ। लुम्बिनीका प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीविरुद्ध लेनदेन मुद्दामा अदालतले पक्राउ पुर्जी जारी भएपनि गुपचुप राखिएको खुलेको छ ।
पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयनका लागि २०८१ साउन ६ मा जिल्ला प्रहरी कार्यालय मोरङ हुँदै इलाका प्रहरी कार्यालय रूपन्देहीमा पुगेपनि गुपचुप राखिएको खुलेको हो ।
सोमबार पन्थी लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बुद्धजयन्तीसम्बन्धी कार्यक्रममा सहभागी रहेको खुलेको छ । प्रधानमन्त्री ओली आउनुपूर्व मञ्चमा देखिएका पन्थी पक्राउ पुर्जी जारीको विषय सार्वजनिक भएपछि कार्यक्रमस्थलबाट निस्किएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली उपस्थित हुँदा र मन्तव्य व्यक्त गरिरहँदा सांसद पन्थी मञ्चमा रहनुभएको थिएन ।
पाल्पाको सिस्नेखोलामा ५० जनाको साझेदारीमा खोलिएको ‘गौतमबुद्ध हाइड्रो पावर प्रालि’ ले उधारोमा खरिद गरेको सामानको भुक्तानी नदिएको विषयमा पन्थीलगायतविरुद्ध मुद्दा परेको थियो ।
कम्पनीले कारोबार गर्ने क्रममा २०७३ सालमा विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । तर, ५ लाख रुपैयाँ मात्र भुक्तानी गरेको थियो ।
बाँकी रकम नदिएपछि पल्लवी कम्पनीले २०७५ चैत ११ मा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । २०७७ मंसिर २३ मा अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यही मुद्दामा अदालतले पन्थी र देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट विजयी पन्थी एमाले प्रदेशसभा सदस्य एवं एमाले लेखा आयोगका सदस्य हुनुहुन्छ । निर्वाचन क्षेत्र कपिलवस्तु भए पनि उहाँको बसोबास बुटवलमा छ । उहाँले पक्राउ पुर्जी जारी भएको विषयमा अनभिज्ञता प्रकट गर्नुभएको छ ।
साझेदारीमा खोलिएको हाइड्रोपावर घाटामा गएकाले ८ वर्षअघि नै बिक्री गरिएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टले सञ्चारमाध्यमबाट जानकारी पाए पनि यस विषयमा आफू अध्ययनमै रहेको बताउनुभएको छ ।















