दाङ । तुलसीपुरस्थित शारदा सिस्ने बोर्डिङ स्कुलमा विद्यालयस्तरीय विद्यार्थी नेतृत्व चयनका लागि लोकतान्त्रिक अभ्यासमार्फत इको क्लब गठन गरिएको छ ।
नेतृत्व क्षमताको विकास, उत्तरदायित्व बोध तथा अनुशासित व्यवहार प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचन भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले उम्मेदवारी घोषणा गर्दै योजनाबद्ध रूपमा प्रचार–प्रसार गरेका थिए। उनीहरूले मतदातासामु आफ्ना एजेन्डा प्रस्तुत गर्दै नेतृत्वमा आउने प्रतिबद्धता व्यक्त गरेका थिए। उम्मेदवारहरूको आत्मविश्वास, सार्वजनिक बोल्ने कला र स्पष्ट दृष्टिकोणको प्रशंसा गरिएको थियो।
विद्यालय परिसरमा स्थापना गरिएको मतदान केन्द्रमा ४२४ मतदातामध्ये ४११ जनाले मतदान गरे। ५ मत बदर भएका थिए। निर्वाचन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र सहभागीमूलक रहेको विद्यालयले जनाएको छ। शिक्षक, व्यवस्थापन प्रतिनिधि र विद्यार्थीहरूको सहभागितामा निर्वाचन समिति गठन गरी समन्वय गरिएको थियो।
विद्यालयले शिक्षा केवल पाठ्यक्रममा सीमित नरही व्यवहार, नेतृत्व र सामाजिक चेतनाको विकाससँग पनि जोडिनुपर्नेमा जोड दिएको छ। यस्ता अभ्यासहरूले विद्यार्थीमा लोकतान्त्रिक मूल्य, सहकार्य, समयको सम्मान र अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने विश्वास विद्यालय प्रशासनको छ।
निर्वाचनको अन्त्यमा दिलिप पुन २४५ मतसहित क्लबका कप्तानमा निर्वाचित भए। उपकप्तानमा १५५ मत प्राप्त गर्दै कृष्ण ओली विजयी भए। सचिव पदमा हेनिश जि.एम. र कोषाध्यक्षमा करिश्मा डाँगीले जित हासिल गरे। त्यस्तै, खेल संयोजकमा किरण चन्द र सांस्कृतिक संयोजकमा नबिना बि.क. चयन भएका छन्।
विद्यालयले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै विद्यार्थीलाई नेतृत्व, सृजनशीलता र अनुशासनयुक्त जीवनशैलीतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको छ।















